दार्जिलिङले अन्तिम विदाइ गर्‍यो गायक–अभिनेता प्रशान्त तामाङलाई

दार्जिलिङ । गायक तथा अभिनेता प्रशान्त तामाङलाई जन्मथलो दार्जिलिङमा अन्तिम विदाइ गरिएको छ। आइतबार ४३ वर्षको उमेरमा निधन भएका प्रशान्तको मंगलबार दार्जिलिङस्थित आलुबारीमा तिब्बती बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो।

अन्त्येष्टिअघि उनको पार्थिव शरीर सोमबार दार्जिलिङ पुर्‍याइँदा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो। श्रद्धाञ्जली दिन पुगेका सयौँ नेपाली भाषीले प्रशान्तप्रति सम्मान व्यक्त गरेका थिए। अन्त्येष्टिका क्रममा उनकी पत्नी मार्था एली भावुक देखिएकी थिइन्।

संगीत र अभिनय दुवै क्षेत्रमा सक्रिय प्रशान्त तामाङले हिन्दी र नेपाली भाषामा थुप्रै गीत गाएका छन्। उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ जस्ता नेपाली चलचित्रमा अभिनय गरेर दर्शकमाझ छुट्टै पहिचान बनाएका थिए। पछिल्लो पटक उनी ‘लडाइँ पहिचानको’ फिल्ममा देखिएका थिए।

कलामार्फत नेपाली समुदायको आवाज बनेका प्रशान्तको असामयिक निधनले संगीत र फिल्म क्षेत्र शोकमा डुबेको छ।