रविविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिने निर्णय

 

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले रास्वपा अध्यक्ष एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग सम्बन्धी मुद्दा फिर्ता लिने भएको छ ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले मुद्दा फिर्ता लिने बिषयमा कार्यालय समय सकिनु केही बेरअघि नायव महान्यायाधिवक्ताहरुसँग परामर्श गरेकी थिइन् । फौजदारी कार्यविधि संहिताको दफा ३६ अनुरुप दुईवटा मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाउन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिने निर्णय भएको महान्यायाधिवक्ता कार्यालयको उच्च स्रोतले जनाएको छ ।

लामिछानेविरुद्ध काठमाडौं, रुपन्देही, कास्की र पर्सा अदालतमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग छ ।

ती जिल्लास्थित सरकारी वकिलको कार्यालयले अब मुद्दा फिर्ताका लागि आरोपपत्रमै संशोधनका लागि अदालतमा रितपूर्वक निवेदन दिनेछन् । त्यसपछि अदालतको अनुमतिमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता हुनेछ ।

सम्वन्धित अदालतले अनुमति दिएमा आरोपपत्रबाटै यी दुईवटा मुद्दा स्वतः फिर्ता हुने छन् । त्यसपछि लामिछानेको सहकारी ठगी प्रकरणको अभियोग मात्र बाँकी रहने छ ।