विराटनगर ।
सडक छेउमा सामान्य देखिने परालको कुन्यूभित्र अवैध कारोबार लुकेको तथ्य विराटनगर–१४, जतुवामा बुधबार बिहान प्रहरीको निगरानीपछि सार्वजनिक भएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले परालले छोपेर वेवारिसे अवस्थामा राखिएको एक लाख ३४ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक कबिन राईको नेतृत्वमा परिचालित १३ जनाको टोलीले बिहान करिब ६ः४० बजे सडक किनारको परालको कुन्यू चेक गर्दा भन्सार छली ल्याइएका उपभोग्य वस्तुहरू फेला पारेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार तस्करहरूले प्रहरीको आँखाबाट बच्न सामानहरूलाई परालले छोपेर अस्थायी रूपमा लुकाएको देखिन्छ।
बरामद सामग्रीमा ठूलो परिमाणमा रसगुल्ला, चिनी तथा ग्यास चुलोमा प्रयोग हुने विभिन्न पार्टपुर्जाहरू रहेका छन्। प्रहरीले जनाएअनुसार २८८ बट्टा (१२ कार्टुन) रसगुल्लाको मूल्य ९२ हजार १६० रुपैयाँ, ८५ केजी चिनीको ५ हजार १०० रुपैयाँ र ग्यास चुलोका पार्टपुर्जाहरूको ३७ हजार २०० रुपैयाँ गरी कुल १ लाख ३४ हजार ७६० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको हो।
प्रहरीका अनुसार सामानहरू कसले र कुन मार्ग हुँदै ल्याएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ। बरामद सबै सामग्री आवश्यक प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ भने आजै भन्सार कार्यालय रानीमा बुझाउने तयारी गरिएको छ।
स्थानीय क्षेत्रमा सीमा नाकासँग जोडिएको तस्करी गतिविधि बढ्दै गएको संकेत यस घटनाले दिएको भन्दै प्रहरी प्रशासनले निगरानी थप कडा बनाउने जनाएको छ।