काठमाडौँ । नेपाली कांग्रेसको नेतृत्व विवादले नयाँ मोड लिएको छ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक दलका रूपमा मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका थापालाई कानुनी मान्यता दिएको हो ।
राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएपछि उनले पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा आवश्यक कागजात पेश गरेका थिए । आयोगले ती सबै दस्तावेज अध्ययन गरी थापा नेतृत्वको केन्द्रीय समितिलाई वैध ठहर गरेको जनाएको छ ।
आयोगभित्रै निर्णयका क्रममा पदाधिकारीहरूबीच मतभेद देखिएको बताइए पनि अन्ततः बहुमतको आधारमा थापा पक्षको दाबी स्वीकार गरिएको हो । आयोगको यो निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डा शेरबहादुर देउवा पक्षबाट औपचारिक रूपमा गुमेको छ ।
यसैबीच, आयोगको निर्णयप्रति देउवा पक्षले कडा आपत्ति जनाएको छ । आयोग परिसरमै पुगेका देउवा पक्षका नेता पूर्णबहादुर खड्काले प्रक्रिया र विधि मिचेर निर्णय गरिएको आरोप लगाउँदै सबै कानुनी तथा राजनीतिक लडाइँ लड्ने चेतावनी दिएका छन् । देउवा पक्षले आफूहरू नै वास्तविक कांग्रेस भएको दाबी गर्दै छुट्टै कागजात आयोगमा बुझाएको थियो ।
निर्वाचन आयोगको यो निर्णयपछि नेपाली कांग्रेसको आन्तरिक शक्ति संघर्ष झनै चर्किने संकेत देखिएको छ भने नेपाली राजनीतिमा यसको प्रभाव दूरगामी हुने अनुमान गरिएको छ ।