कांग्रेसको चुनावी कार्ड गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार घोषणासँगै विश्वप्रकाशले कोरे नयाँ राजनीतिक रेखा

काठमाडौँ । नेपाली कांग्रेसले आगामी आम निर्वाचनमा स्पष्ट नेतृत्वसहित मैदानमा उत्रिने संकेत दिएको छ । पार्टीका उपसभापति विश्वप्रकाश शर्माले गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने औपचारिक घोषणा गरेका छन् । यो घोषणासँगै कांग्रेसको आन्तरिक राजनीतिले मात्र होइन, समग्र सत्ता समीकरणले पनि नयाँ दिशा लिने देखिएको छ ।

निर्वाचन आयोगले शुक्रबार गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै शर्माले कांग्रेस अब ‘अनिश्चित नेतृत्व’ र ‘पोस्ट–इलेक्सन सम्झौता’को राजनीतिबाट बाहिरिने बताए । उनका अनुसार निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार तोक्नु कांग्रेसको नयाँ राजनीतिक अभ्यासको सुरुवात हो ।

‘देशले अब अनुमान होइन, स्पष्टता चाहेको छ,’ शर्माले भने, ‘महासमितिले पारित गरेका दस्तावेज, कार्यकर्ताको भावना र आम जनताको अपेक्षा गगन थापाको नेतृत्वतर्फ केन्द्रित छ । त्यसैले हामी उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जनतामा जानेछौँ ।’

आयोगको निर्णयपछि विशेष महाधिवेशनले कानुनी मान्यता पाएको उल्लेख गर्दै शर्माले देशभर कांग्रेस कार्यकर्ताले दीपावली मनाइरहेको बताए । तर उनले यसलाई कसैको पराजय वा विजयभन्दा पनि ‘विधि, प्रक्रिया र परिवर्तनको उत्सव’का रूपमा बुझ्न आग्रह गरे । ‘यो नयाँ कांग्रेस निर्माणको उत्सव हो,’ उनले भने, ‘जहाँ हार–जीत होइन, एकता र भविष्यको राजनीति केन्द्रमा हुन्छ ।’

विश्वप्रकाश शर्माले कांग्रेसको मुख्य चुनावी एजेण्डा अब ‘स्थिर सरकार र सुशासन’ हुने स्पष्ट पारे । विगत तीन दशकमा सरकारहरू बारम्बार फेरिँदा देश अस्थिरतामा फसेको दाबी गर्दै उनले कांग्रेसले पाँच वर्षसम्म टिक्ने प्रधानमन्त्री सुनिश्चित गर्न ‘फुल टर्म प्राइममिनिस्टर एक्ट’ को अवधारणा अघि सारेको जानकारी दिए । यससँगै दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने ‘एक्जिट पोलिसी’ कडाइका साथ लागू गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

चुनावी रणनीतिबारे बोल्दै शर्माले कांग्रेस कुनै पनि दलसँग पूर्व–निर्वाचन गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने बताए । अझै रोचक पक्ष के छ भने, उनले आफू यसपटक उम्मेदवार नबन्ने घोषणा गर्दै देशव्यापी चुनावी अभियानको सम्पूर्ण कमाण्ड सम्हाल्ने बताएका छन् ।

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने घोषणासँगै नेपाली कांग्रेस अब नेतृत्व, नीति र दिशासहित चुनावमा जाने स्पष्ट सन्देश दिन खोजिरहेको देखिन्छ । यसले मतदाताको भरोसा कत्तिको जित्छ, त्यो भने अब आउने चुनावले नै तय गर्नेछ ।