विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ स्थित जुरीखोला छेउको बाँसझ्याडमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट जुवाजन्य सामग्री र तीन लाखभन्दा बढी नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीका अनुसार २०८२ साल माघ २ गते साँझ करिब ६ बजे जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीबाट संयुक्त प्रहरी टोली खटिएको थियो। खानतलासीका क्रममा जुवाको खाल बनाएर कौडा खेल्दै गरेको अवस्थामा १६ थान जुवा (कौडा) र नगद रु. ३ लाख १३ हजार फेला पारी चारै जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–९ का ५७ वर्षीय जय किशोर साह, भोजपुर हतुवागढी गाउँपालिका–३ का स्थायी बासिन्दा भई हाल सुनसरी धरान बस्दै आएका ५६ वर्षीय हेमन्त राई, मोरङ कटहरी गाउँपालिका–१ का ४२ वर्षीय सोनलाल राजवंशी र मोरङ सुन्दरहरैचा नगरपालिका–५ का ४७ वर्षीय इन्द्र आचार्य रहेका छन्।
पक्राउ परेकाहरूलाई जुवा खेल्न प्रयोग भएको कौडा र नगदसहित इलाका प्रहरी कार्यालय बेलबारीमा राखी आवश्यक थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए।




