विराटनगर ।
कोशी प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचनले यसपटक परम्परागत दल–केन्द्रित प्रतिस्पर्धालाई तोड्दै नयाँ राजनीतिक संकेत दिएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि प्रदेशका २८ निर्वाचन क्षेत्रमा हालसम्म ५०८ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसले चुनावलाई बहुपक्षीय र जटिल बनाएको छ ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उम्मेदवारको अन्तिम संख्या अझै परिवर्तन हुनसक्ने छ । उजुरी, छानबिन र अन्तिम नामावली प्रकाशनपछि मात्रै वास्तविक तस्वीर स्पष्ट हुने बताइएको छ । तर प्रारम्भिक तथ्यांकले नै यसपटक मतदाताले असाधारण रूपमा धेरै विकल्प पाउने संकेत देखाएको छ ।
सहरी क्षेत्रमा उम्मेदवारको चाप
विशेष गरी सहरी र राजनीतिक रूपमा संवेदनशील क्षेत्रमा उम्मेदवारको चाप अत्यधिक देखिएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा मात्रै ३४ जना उम्मेदवार मैदानमा उत्रिएपछि यो क्षेत्र प्रदेशकै सबैभन्दा प्रतिस्पर्धी बनेको छ ।
सुनसरीका चारै क्षेत्रमा गरी १०९ उम्मेदवार छन् । औद्योगिक र शहरी प्रभाव बढी रहेको सुनसरीमा मुख्य दलसँगै स्वतन्त्र र साना दलका उम्मेदवारको आक्रामक उपस्थिति देखिएको छ ।
मोरङः राजधानीसँगै राजनीति तातो
प्रदेश राजधानी विराटनगर समेटिएको मोरङ जिल्लामा ६ निर्वाचन क्षेत्र छन् । यहाँ कुल ११८ जनाले उम्मेदवारी दिएका छन् । सबै क्षेत्रमा औसतमा १८ देखि २२ जना उम्मेदवार देखिनुले मोरङलाई यसपटक पनि कोशीको राजनीतिक केन्द्र बनाएको छ ।
झापामा ठूला नामको भिडन्त
५ निर्वाचन क्षेत्र रहेको झापामा ९० उम्मेदवार मैदानमा छन् । सबैभन्दा धेरै उम्मेदवारी झापा–५ मा परेको छ, जहाँ २४ जना उम्मेदवार छन् ।
यही क्षेत्रमा नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र साह (बालेन) जस्ता चर्चित नामको उम्मेदवारी परेपछि राष्ट्रिय स्तरमै चासो बढेको छ । झापामा यसपटक दल र स्वतन्त्र उम्मेदवारबीचको प्रतिस्पर्धाले नतिजा अनिश्चित बनाउने देखिन्छ ।
पहाडी जिल्लामा पनि राजनीतिक चासो
उदयपुर, इलाम, ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, सोलुखुम्बु, खोटाङ र ओखलढुंगा जस्ता पहाडी तथा हिमाली जिल्लामा पनि उम्मेदवारको संख्या उल्लेखनीय छ । विकट भूगोलका यी जिल्लामा पनि औसतमा १२ देखि १८ जना उम्मेदवार देखिनुले राजनीतिक सहभागिता कमजोर नभएको संकेत गर्छ ।
निर्वाचन बहुआयामिक बन्दै
प्रदेश निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । अब प्रारम्भिक सूची, उजुरी छानबिन र अन्तिम नामावली प्रकाशनपछि औपचारिक प्रचार–प्रसार सुरु हुनेछ ।
उम्मेदवारको संख्या र विविधता हेर्दा, कोशी प्रदेशको प्रतिनिधिसभा निर्वाचन यसपटक दलगत सीमाभन्दा बाहिर निस्कँदै, मुद्दा, व्यक्तित्व र वैकल्पिक राजनीतिक धारको प्रतिस्पर्धामा रूपान्तरण हुँदै गएको स्पष्ट देखिन्छ ।




