प्रहरीको मिलेमतोमा देहव्यापार ?

विराटनगर।
जिल्ला प्रहरी कार्यालय मोरङले केही वर्षअघिसम्म विराटनगरका होटल तथा रेष्टुरेन्टहरूमा समय–समयमा छड्के अनुगमन गर्ने गरेको थियो। तर कोरोना महामारीको समयमा होटल व्यवसाय धराशायी बन्दै गएपछि नेपाल प्रहरीले त्यतिबेला आँखा चिम्लिएको व्यवसायीहरू नै बताउँछन्।

मापसे जाँच वा अनुगमनका क्रममा होटल व्यवसायीहरूले “हामी ऋणमा डुबेका छौँ, बैंकले होटल लिलाम गर्ने अवस्था आएको छ, कोरोनाका कारण दिनमा दुई–चार जना मात्र ग्राहक आउँछन्, त्यसमा पनि प्रहरीले दुःख दिए आत्महत्या गर्नुबाहेक अर्को उपाय छैन” भन्दै रोइकराइ गरेपछि केही समयका लागि प्रहरीले छापा मार्न छाडेको आरोप छ।

त्यसको बदलामा प्रहरी इन्चार्जहरूलाई होटल व्यवसायीहरूले मासिक रूपमा ‘खामबन्दी’ बुझाउने गरेको कुरा धेरैलाई थाहा भएको दाबी गरिन्छ। यही कारण प्रहरीले होटलहरूमा छापा हान्ने आँट नगरेको आरोप स्थानीय स्तरमै सुनिँदै आएको छ। जनताले समेत संगठित रूपमा विरोध नगरेको अवस्था छ।

विराटनगरमा नागरिक समाज, उपभोक्ता मञ्च तथा अभियन्ताहरूको समेत खडेरी परेको देखिन्छ। जो–जो आफूलाई अभियन्ता भन्ने गर्छन्, उनीहरूमध्ये कतिपयले नै सहकारी लुटेको, व्यापारीलाई धम्क्याएर आर्थिक लाभ लिने गरेको आरोप पनि लाग्दै आएको छ।

विराटनगरका अधिकांश होटलमा देहव्यापार हुने गरेको आरोप लागिरहँदा पनि सबै मौन छन्। पत्रकारहरूले समेत खुलेर लेख्न र बोल्न नसकेको गुनासो छ। केही पत्रकारहरूको प्रहरी प्रशासनसँग नजिकको सम्बन्ध भएकाले ‘चिसो चिया’ खुवाइएपछि कलम चलाउनुपर्ने आवश्यकता नदेखिएको टिप्पणी स्थानीयस्तरमा गरिन्छ। नागरिक समाजले विकृति र विसंगतिविरुद्ध आवाज उठाउन नसकेको यथार्थ देखिन्छ।

यसैबीच, पछिल्लो पाँच महिनादेखि विराटनगर महानगरपालिका–११, रोडसेशस्थित भिन्तुना गीतगजलमा काम गर्दै आएकी झापा जिल्लाको कनकाई नगरपालिका–१ की १६ वर्षीया किशोरी (सांकेतिक नाम ०८२ विराटनगर–६७) लाई गजलका सञ्चालक तथा त्यहीँ काम गर्ने व्यक्तिहरूले भारतीय नागरिकहरूसँग जबर्जस्ती यौन क्रियाकलाप गर्न लगाएको र एक कोठामा थुनेर शारीरिक यातना दिएको सूचनाका आधारमा प्रहरीले कारबाही गरेको छ।

सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले पीडित किशोरीलाई उक्त स्थानबाट उद्धार गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएको थियो। पीडितले दिएको लिखित जाहेरीका आधारमा मिति २०८२ साल पुस २१ गते घटनास्थलबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१२ निवासी ३३ वर्षीय पर्शुराम कामत (भिन्तुना गीतगजलका सञ्चालक) तथा विराटनगर महानगरपालिका–८ निवासी २६ वर्षीय मनिष ठाकुर रहेका छन्। मनिष ठाकुर उक्त गीतगजलमा काम गर्ने व्यक्ति हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङकी प्रमुख प्रहरी नायब उपरीक्षक कोपिला चुडालका अनुसार पक्राउ परेका दुवै जनामाथि मानव बेचबिखन तथा शरीर बन्धकसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ र दोषीमाथि कानुनअनुसार कडा कारबाही गरिनेछ।

प्रश्न उठ्छ— यदि यो घटना बाहिर नआएको भए के यो पनि लुकेर जाने थियो ? यस्ता बाहिर आउन नसकेका कति घटना अझै छन् ? प्रहरीले नियमित रूपमा होटल, रेष्टुरेन्ट तथा मसाज सेन्टरहरूमा किन अनुगमन गर्दैन ?

विराटनगरमा मात्र होइन, मसाज सेन्टरको नाममा खुलेआम देहव्यापार भइरहेको आरोप लागिरहँदा पनि सम्बन्धित सरकारी निकायहरू मौन देखिन्छन्। हरेक मसाज सेन्टरमा देहव्यापार भइरहेको भन्ने गुनासो हुँदाहुँदै पनि अनुगमन नहुनुको कारण के हो ? स्थानीयहरूका अनुसार यसको मूल कारण मासिक रूपमा हुने आर्थिक लेनदेन नै हो।

मानव बेचबिखन तथा शारीरिक यातना जस्ता गम्भीर अपराधमाथि कडा र निष्पक्ष अनुगमन कहिले हुन्छ भन्ने प्रश्न अझै अनुत्तरित छ।