विराटनगरमा खैरो हेरोइन, नगद र मोटरसाइकलसहित २ जना पक्राउ

विराटनगर ।
मोरङको विराटनगरमा लागूऔषध कारोबारमा संलग्न दुई जनालाई प्रहरीले खैरो हेरोइन, नगद रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।

मिति २०८२ साल माघ ६ गते करिब ११ बजेको समयमा, लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङलागूऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त प्रहरी टोलीले विराटनगर महानगरपालिका–४ स्थित नोबेल अस्पताल जाने बाटो नजिक सडक किनारमा शंकास्पद अवस्थामा रहेको को ३७ प ३३६६ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो ।

जाँचका क्रममा मोटरसाइकल चालक सुनसरीको झोक्राहा–नरसिंह गाउँपालिका–५ स्थायी घर भई हाल विराटनगरमा रहेका ३५ वर्षीय सुदिन अन्सारीको साथबाट १४० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक सोधपुछका क्रममा अन्सारीले उक्त लागूऔषध सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ५० वर्षीय रोहित काकीले बोक्न दिएको बयान दिएपछि प्रहरीले तत्काल काकीलाई समेत नियन्त्रणमा लिएको थियो । काकीको साथबाट नेपाली नगद ७५ हजार रुपैयाँ बरामद गरिएको छ ।

दुवै जनाको बयानका आधारमा प्रहरी टोलीले इटहरीस्थित रोहित काकीको घरमा खानतलासी गर्दा थप लागूऔषध र प्रतिबन्धित औषधि फेला परेको छ । घरको कोठाबाट १४.२३ ग्राम खैरो हेरोइनजस्तो पदार्थ,
प्रतिबन्धित औषधि “डिक्लोफेनाक” लेखिएको १८ बोतल,
“ट्रामाडोल” लेखिएको ४६ पत्ता (४६० ट्याब्लेट)
“केप्सुल” लेखिएको ४२ पत्ता (३३६ क्याप्सुल) बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

बरामद लागूऔषध, नगद रकम र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएर आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।