प्रहरी निरीक्षक प्रकाश थापा पुस महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

विराटनगर, माघ 7 गते ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै प्रहरी निरीक्षक प्रकाश थापालाई २०८२ साल पुस महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ ।

विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल, साहस र जिम्मेवारीका साथ कर्तव्य निर्वाह गरेबापत निरीक्षक थापालाई उक्त सम्मान प्रदान गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक थापाले २०८२ साल असोज २६ गते ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा ५२ वर्षीया **रत्नकुमारी कटवाल (कार्की)**को हतियारधारी समूहद्वारा बन्चरो प्रहार गरी गरिएको बीभत्स हत्या तथा नगद र सुनका गरगहना लुटपाटको घटनामा सफल अनुसन्धान गरी अपराधी पहिचान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यसैगरी, २०८२ साल पुस १५ गते ओखलढुंगाकै चिशंखुगढी गाउँपालिका–६मा किराना पसल सञ्चालक दम्पति ६० वर्षीय सोवितमान थापा मगर६० वर्षीया रत्नमाया थापा मगरको कोदालो तथा अन्य हतियार प्रयोग गरी गरिएको हत्या तथा करिब १ लाख रुपैयाँ नगद र ८ तोला सुन लुटपाटको घटनामा संलग्न ४ जना अभियुक्तलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन उनले उल्लेखनीय योगदान दिएका थिए ।