विराटनगर क्रिकेट लिगको उपाधि विराटनगरले जितेको छ। रोमाञ्चक फाइनल खेलमा विराटनगरले सिद्धार्थ स्पोर्टिङ क्लबलाई मात्र २ रनले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो।
नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मर्लीवोन–ज्वाला क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै १३८ रनको प्रतिस्पर्धात्मक स्कोर तयार गर्यो।
विराटनगरको इनिङ्समा सुजन थपलिया चम्किए। उनले ४७ बलमा ५ छक्का र ६ चौकाको मद्दतले ७२ रनको उत्कृष्ट इनिङ्स खेले। उनलाई कमलदेव चौधरी (१९ रन) र कृष शर्माले (१५ रन) राम्रो साथ दिए। सिद्धार्थतर्फबाट श्रवण किस्कुले २ विकेट लिए भने दिपेश कँडेल र निरज मुखियाले १–१ विकेट हात पारे।
१३९ रनको लक्ष्य पछ्याएको सिद्धार्थ स्पोर्टिङ क्लब अन्तिम ओभरसम्म खेलमा टिकिरह्यो। तर निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १३६ रनमै सीमित हुन पुग्यो। सिद्धार्थका लागि रविन मण्डलले ४८ रन र अनिल लामिछानेले ३६ रन जोड्दै जितको आशा जगाए पनि लक्ष्य नजिक पुगेर चुक्नुपर्यो।
विराटनगरको जितमा कृष शर्माको घातक बलिङ निर्णायक बन्यो। उनले ४ विकेट लिए भने रितेश झाले ३ र प्रसान्त साहले २ विकेट लिए। कृष शर्मा फाइनल खेलका ‘प्लेयर अफ द फाइनल’ घोषित भए।
उपाधिसँगै विराटनगरले २५ हजार नगद र ट्रफी प्राप्त गर्यो भने उपविजेता सिद्धार्थले १० हजार नगद र ट्रफीमा चित्त बुझायो।
व्यक्तिगत पुरस्कारतर्फ लायन क्लबका सकिव हक उत्कृष्ट ब्याटर, सिद्धार्थका दिपेश कँडेल उत्कृष्ट बलर र फिर्दोस अन्सारी प्लेयर अफ द टुर्नामेन्ट घोषित भए।
विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई कोशी क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे, मोरङ क्रिकेट संघका अध्यक्ष महमद बाबु कुरेसी, सुनसरी क्रिकेट संघका अध्यक्ष सिपी पौडेल र नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठलगायतले ट्रफी तथा पुरस्कार वितरण गरेका थिए।




