कोशीबाट राष्ट्रिय सभामा नयाँ अनुहार, फरक पृष्ठभूमि
Copy of Copy of Copy of Copy of Copy of Copy of Copy of Copy of Copy of Copy of Copy of Copy of Copy of Copy of Copy of Copy of Copy of Copy of Copy of Copy of दीपेन्द्र अधिकारी - 1

थापा, पोर्तेल र मेचेले पाए माथिल्लो सदनको जिम्मेवारी

विराटनगर । कोशी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने तीन सदस्यको चयनसँगै प्रदेशको राजनीतिक सन्तुलन र सामाजिक प्रतिनिधित्व दुवै पक्ष उजागर भएको छ। नेपाली कांग्रेसका सुनिलबहादुर थापा, नेकपा एमालेका सोम पोर्तेल र रोशनी मेचे ६ वर्षे कार्यकालका लागि राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन्।

कांग्रेस–एमाले–जसपा गठबन्धनको बलियो गणितले चुनावी परिणाम अपेक्षित बने पनि, निर्वाचित तीनै जनाको पृष्ठभूमि र अनुभव भने फरक–फरक छन्।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा यसपटक निर्विरोध निर्वाचित भए। प्रतिस्पर्धी उम्मेदवार मनोनयन प्रक्रियामै अनुपस्थित भएपछि उनको जित सहज बनेको हो। संयुक्त राष्ट्रसंघमा लामो समय सेवा गरेका थापा २०७७ सालमा राप्रपा त्यागेर कांग्रेस प्रवेश गरेका थिए। उनी पूर्व वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत रहिसकेका अनुभवी नेता हुन्।

दलित कोटाबाट निर्वाचित सोम पोर्तेलको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो। झापा जिल्ला समन्वय समितिका पूर्वप्रमुख पोर्तेल एमाले निकट ‘मुक्ति समाज नेपाल’ का केन्द्रीय उपमहासचिव छन्। उनले राष्ट्रिय सभालाई केवल अवकाशप्राप्त नेताहरूको थलो बनाउने प्रवृत्ति तोड्नुपर्ने धारणा राख्दै अनुभव र ऊर्जाको संयोजन आवश्यक रहेको बताए।

महिला कोटाबाट विजयी रोशनी मेचे अल्पसंख्यक मेचे समुदायको प्रतिनिधित्व गर्छिन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्य अनुभव बटुलेकी मेचे हाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य छिन्। उनले राष्ट्रिय सभामार्फत अल्पसंख्यक र लोपोन्मुख समुदायका मुद्दालाई नीतिगत तहसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

तीन फरक पृष्ठभूमि, फरक अनुभव र फरक समुदायबाट आएका यी प्रतिनिधिले अब कोशी प्रदेशको आवाज राष्ट्रिय सभामा कसरी उठाउँछन् भन्ने चासो बढेको छ।