कोशीका राजनीतिक हस्ती, जो यसपटक छैनन् चुनावी मैदानमा

अर्जुन आचार्य
शनिबार, १७ माघ २०८२,

सारांश
कोशी प्रदेशका प्रभावशाली नेताहरू, पूर्वप्रधानमन्त्री र मन्त्रीहरू यस पटकको निर्वाचनबाट बाहिरिएका छन्।
विभिन्न जिल्लाहरूमा हेभीवेट उम्मेदवारहरूको अनुपस्थितिले नयाँ अनुहारहरूलाई अवसर मिलेको छ।
कतिपय नेताहरू स्वेच्छिक रूपमा विश्राम लिएका छन् भने कतिपय पार्टीभित्रको आन्तरिक कारणले बाहिरिएका छन्।
विराटनगर । संसदीय अभ्यासमा आफ्नो दरिलो उपस्थिति जनाउँदै आएका कोशी प्रदेशका धेरै प्रभावशाली नेताहरू, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री र पार्टीका शीर्ष पदाधिकारीहरू यस पटक चुनावी मैदानबाट बाहिरिएका छन् ।

कोशी प्रदेशका १४ वटै जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी लगायत दलका हेभीवेट उम्मेदवारहरूको अनुपस्थितिले यस पटकको निर्वाचनमा नयाँले अवसर पाएका छन् । कतिपय नेताहरूले स्वेच्छिक रूपमा विश्राम लिएका छन् भने कतिपय पार्टीभित्रको आन्तरिक समीकरण, टिकट वितरणको किचलोका कारण चुनावी दौडबाट बाहिरिन पुगे ।

ताप्लेजुङ र पाँचथर जस्ता पहाडी जिल्लामा यस पटक ठुला हस्ती छैनन् । ताप्लेजुङबाट एमालेका उपमहासचिव तथा पूर्वमन्त्री योगेश भट्टराई र पूर्वमन्त्री टंक आङ्बुहाङ जस्ता प्रभावशाली नेताहरू उम्मेदवारको सूचीमा परेनन् । भट्टराई जस्ता केन्द्रीय राजनीतिमा प्रभाव राख्ने नेताको अनुपस्थितिले स्थानीय कार्यकर्ताहरूमा समेत मिश्रित प्रतिक्रिया देखिएको छ । त्यस्तै, कांग्रेसका पूर्वमन्त्री प्रतापप्रकाश हाङ्गाम पनि यस पटक प्रतिस्पर्धामा छैनन् ।

पाँचथरमा एमालेका पूर्वमन्त्री बसन्त नेम्वाङ र कांग्रेसका प्रभावशाली नेता भीष्मराज आङ्देम्बे चुनावी मैदान बाहिर रहनुले त्यहाँको राजनीतिक सन्तुलनमा फेरबदल ल्याएको छ । यी दुवै नेता आ–आफ्नो दलभित्र केन्द्रमा बलियो पकड राख्ने व्यक्तित्वका रूपमा चिनिन्छन् ।

इलाम र झापाको अवस्था झनै रोचक छ । इलामबाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल उम्मेदवार नबन्नुले राष्ट्रिय राजनीतिमा नै चर्चा पाएको छ । उनीसँगै कांग्रेसका पुराना नेताहरू डम्बरबहादुर खड्का र बेनुपराज प्रसाई, एमालेका पूर्व सांसद महेश बस्नेत र पूर्व प्रदेश सांसद धिरेन्द्र शर्मा पनि यस पटक उम्मेदवार छैनन् ।

झापामा त झन् नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको अनुपस्थितिले धेरैलाई चकित बनाएको छ । झापाबाटै कांग्रेसका इन्द्र बुढाथोकी र डा। खगेन्द्र अधिकारी, एमालेका पूर्वमन्त्री अग्नि खरेल, दीपक कार्की र रविन कोइराला जस्ता स्थापित नेताहरू यस पटक चुनावी प्रतिस्पर्धामा छैनन् । नेकपाबाट पूर्णसिंह राजवंशी र पूर्वमन्त्री झलकसिंह दर्लामी जस्ता हस्तीहरू पनि मैदान बाहिर छन् ।

कतिपय नेताहरूले आफ्नो राजनीतिक छवि बचाउन वा पार्टीको आन्तरिक कलहका कारण उम्मेदवारी नदिएको विश्लेषण पनि भइरहेको छ । कारण जेसुकै भए पनि यी हस्तीहरूको अनुपस्थितिले कोशी प्रदेशको चुनावी नतिजालाई मात्र होइन, भोलिको संसदीय अभ्यास र राजनीतिक नेतृत्वमा समेत नयाँलाई अवसर प्राप्त भएको छ ।
संखुवासभा, तेह्रथुम र धनकुटाको चुनावी माहोलमा पनि पुराना अनुहारहरू गायब छन् । संखुवासभामा एमालेका पूर्व सांसद राजेन्द्र गौतम, पूर्वमन्त्री तुलसी न्यौपाने र पर्शुमेघी गुरुङ चुनावी प्रतिस्पर्धामा छैनन् भने कांग्रेसका तारामान गुरुङ पनि बाहिरै छन् । तेह्रथुममा कांग्रेसकी पूर्वमन्त्री सीता गुरुङ र एमालेका पूर्वमन्त्री भवानी खापुङ तथा विजय सुब्बा जस्ता बौद्धिक नेताहरूको अनुपस्थिति देखिएको छ । धनकुटामा माओवादी पृष्ठभूमिका स्वतन्त्र संविधानसभा सदस्य हेमराज भण्डारी पनि चुनावी मैदान बाहिरै छन् ।

भोजपुरमा पनि नेकपा संयुक्तका नेता तथा पूर्व सांसद घनेन्द्र बस्नेत, एमालेका कृपासुर शेर्पा र कांग्रेसका उमेशजङ्ग रायमाझी जस्ता नेताहरू यस पटक मतदाताको घरदैलोमा उम्मेदवारका रूपमा देखिने छैनन् ।

कोशी प्रदेशको सबैभन्दा ठुलो राजनीतिक केन्द्र मोरङ र सुनसरीमा त प्रभावशाली नेताहरूको लामो ताँती नै चुनावी मैदान बाहिर छ । मोरङमा पूर्वउपप्रधानमन्त्री समेत रहेकी कांग्रेसकी सुजाता कोइराला, पूर्वअर्थमन्त्री महेश आचार्य, पूर्वमन्त्री दिलीप गच्छदार उम्मेदवार बनेनन् । एमालेबाट पूर्वमन्त्री लालबाबु पण्डित, ऋषिकेश पोखरेल र भुराज राई बाहिरिएका छन् । नेकपाबाट पनि सावित्रीकुमार काफ्ले, चन्द्र गुरुङ र नगेन्द्र धिमाल यस पटक मैदानमा छैनन् ।

सुनसरीमा एमालेका नेता तथा पूर्वमन्त्री भीम आचार्य, पूर्वसभामुख प्रदीपकुमार भण्डारी र मञ्जु भण्डारी उम्मेदवार बनेका छैनन् । सुनसरीकै कांग्रेस नेता सीताराम मेहता र मीन विश्वकर्मा, नेकपाका मुक्साहाङ मेन्याङ्बो र पूर्व उपसभामुख सरस्वती पोखरेल चुनावी मैदानमा छैनन् ।

हिमाली जिल्ला सोलुखुम्बुदेखि उदयपुरसम्म पनि उस्तै दृश्य छ । सोलुखुम्बुमा कांग्रेसका पुराना नेता बलबहादुर केसी, एमालेका मानवीर राई र नेकपाका गोपाल किराती तथा हेमराज राई जस्ता नेताहरू उम्मेदवार छैनन् । ओखलढुंगामा एमालेका यज्ञराज सुनुवार, कांग्रेसका रामहरि खतिवडा र नेकपाका मोहनकुमार खड्का चुनावी मैदानमा छैनन् । खोटाङमा कांग्रेसका शिवकुमार बस्नेत, एमालेका विशाल भट्टराई र नेकपाका रामकुमार राई लगायत पूर्व सांसदहरूको एउटा ठुलो टोली नै यस पटक उम्मेदवार बनेन । उदयपुरमा कांग्रेसका पूर्वमन्त्री डा। नारायण खड्का र नेकपाका जगन्नाथ खतिवडा जस्ता वैचारिक नेताहरू पनि चुनावी मैदान भन्दा बाहिर छन् ।

यी सबै नेता कुनै समय नेपालको नीति निर्माण तहमा बसेर काम गरिसकेका र आ–आफ्नो क्षेत्रमा बलियो जनाधार भएका हुन् । कतिपय नेताहरूले आफ्नो राजनीतिक छवि बचाउन वा पार्टीको आन्तरिक कलहका कारण उम्मेदवारी नदिएको विश्लेषण पनि भइरहेको छ । कारण जेसुकै भए पनि यी हस्तीहरूको अनुपस्थितिले कोशी प्रदेशको चुनावी नतिजालाई मात्र होइन, भोलिको संसदीय अभ्यास र राजनीतिक नेतृत्वमा समेत नयाँलाई अवसर प्राप्त भएको छ ।