विराटनगर रानीमा सशस्त्रका डिएसपी खडका आएको एक महिना पछी तस्करी लाइन खुल्यो

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म रानीमा सचिवालयबाट सरुवा भई आएका डीएसपी तिलक खड्का आएको करिब एक महिनापछि विराटनगर–रानी भन्सार नाकाबाट तस्करीको गतिविधि बढेको स्थानीयवासीको आरोप छ।

डीएसपी खड्का काठमाडौँबाट पुस ७ गते विराटनगर रानीमा हाजिर भएका थिए। उनी आएपछि मोरङका केही ठूला व्यापारी कार्यालयमै पुगेर तस्करीको ‘लाइन’ माग्न गएको स्थानीय स्रोतको दाबी छ। तर सो समयमा डीएसपी खड्काले “म लाइन दिन सक्दिनँ, केही महिनामै एसपी हुने प्रक्रियामा छु, दाग लाग्न सक्छ” भन्दै तस्करहरूलाई फर्काएको बताइन्छ।

डीएसपी खड्काले पुस महिनाभर मुख्य नाका चाइना मार्केट, मटेरुवा पोस्ट, दरैया, हुलासचोक उखुवारी, इस्लामापुर, बुधनगर र खोकसाहा क्षेत्रमा कडाइका साथ निगरानी गर्दै तस्करीका सामान नियन्त्रणमा लिई भन्सार बुझाएका थिए। सशस्त्र प्रहरीका अनुसार सो अवधिमा करिब २९ लाख रुपैयाँ मूल्य बराबरको सामान बरामद गरिएको थियो।

तर स्थानीय र साना तस्करहरूको भनाइमा पुस महिनामा गरिएको कडाइ तस्करलाई डरत्रासमा राख्ने र पछि चार जना घुमुवा परिचालन गरी तिनमार्फत आर्थिक लेनदेनको मोलतोल गर्न गरिएको थियो। उनीहरूका अनुसार पहिले घुमुवाले पैसा नलिने गरे पनि पछिल्लो समय “हाकिमलाई भेट्नुपर्छ, यति रकम लाग्छ, मान्य भए काम हुन्छ, नभए हुँदैन” भन्ने दबाब दिने गरिएको छ।

पुस महिनाभर विराटनगर रानी भन्सारको एक नम्बर र दुई नम्बर ढाटमा कडाइ गरिए पनि व्यापारीहरूले प्रतिपटक १५ सय रुपैयाँ बुझाएर सामान विराटनगरसम्म ल्याउने गरेको स्थानीयको दाबी छ। कहिले तस्करी गर्न दिने र अर्को दिन राजमार्गको हनुमान मन्दिर अगाडि चेकिङ राखी सबै सामान नियन्त्रणमा लिने कार्यसमेत भएको बताइन्छ।

स्थानीयका अनुसार माघ ७ गतेपछि ठूला तस्करसँग आर्थिक लेनदेन भएपछि कपडा, तरकारी र खाद्यान्न व्यापारीलाई दिन–रात खुलेआम तस्करी गर्न दिइएको छ। रातिको समयमा लाखौँ रुपैयाँ मूल्य बराबरका लत्ताकपडा, खाद्यान्न, हार्डवेयर, मेसिनरी पार्टपुर्जा, पानपराग, रजनीगन्धा, तुलसी र सुर्तीजन्य भारतीय सामान तस्करी गरी विराटनगर बजार ल्याइने गरेको उनीहरूको भनाइ छ। त्यस्तै, नेपालबाट लसुन, घडी, टेप, इन्च, लाइटर, किसमिस र चाउचाउजस्ता चिनियाँ वस्तु भारततर्फ तस्करी हुने गरेको बताइन्छ।

यसअघि डीएसपी विकास खतिवडाको कार्यकालमा छ महिनासम्म तस्कर र तिनका सहयोगी दलाललाई कार्यालय प्रवेशमै रोक लगाइएको थियो। खतिवडाको पालामा तस्करी नियन्त्रण कडाइका साथ गरिएको र मातहतका कर्मचारीलाई कुनै पनि आर्थिक चलखेल गर्न नदिइएको बताइन्छ।

तर डीएसपी खड्का आएपछि सई, असई, हवलदार र सिपाहीहरूले ड्युटीमा सर्वसाधारणका घरायसी प्रयोजनका सामान नियन्त्रणमा लिई दुःख दिने, मोलमोलाइ गर्ने र घुस दिनेहरूको सामान यात्रु शाखाबाट फिर्ता दिने गरेको स्थानीयको आरोप छ। उही स्थान र बाटोबाट नाम चलेका तस्करले भने मजदुरमार्फत ठूलो परिमाणमा सामान ओसार्दा पनि कारबाही नहुने बताइन्छ।

यस विषयमा डीएसपी तिलक खड्कासँग प्रतिक्रिया माग्दा उनले तस्करी गर्न कसैलाई छुट नदिएको दाबी गरे। “एक महिना अघि केही व्यक्ति मसँग भेट्न आएका थिए। सरकारी कार्यालय भएकाले भेट्न आउने सबैसँग भेट गर्नुपर्छ। को तस्कर हो, को व्यापारी हो, त्यो पहिचान गर्न गाह्रो हुन्छ,” उनले भने।

तस्करसँग आर्थिक लेनदेन भएको आरोपबारे उनले “मैले कसैसँग आर्थिक लेनदेन गरेको छैन। मेरो प्रहरी २४ सै घण्टा सीमामा खटिएको हुन्छ। कहिले, कहाँबाट तस्करी हुन्छ, सबै थाहा पाउन सम्भव हुँदैन,” भन्दै आरोप अस्वीकार गरे।