एजेन्सी
क्वेटा । पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा सुरक्षा बल र विद्रोही समूहबिच भएको भीषण भिडन्तमा ठुलो संख्यामा हताहती भएको छ। बलुचिस्तानका मुख्यमन्त्री सर्फराज बुग्टीका अनुसार पछिल्लो ४० घण्टाको अन्तरालमा कम्तीमा १४५ आतंककारी, १७ सुरक्षाकर्मी र ३१ सर्वसाधारणको ज्यान गएको हो।
क्वेटामा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री बुग्टीले प्रतिबन्धित बलुचिस्तान लिबरेसन आर्मी ९बीएलए० ले शनिबार प्रान्तका विभिन्न स्थानमा समन्वयात्मक आक्रमण गरेको जानकारी दिए। ती आक्रमणहरूको जवाफमा सुरक्षा बलले तत्काल र निर्णायक कारबाही गर्दा लडाकुहरू तर्फ ठुलो क्षति पुगेको हो। पाकिस्तानको आतंकवाद विरुद्धको युद्धमा यति छोटो अवधिमा लडाकुहरू मारिएको यो अहिलेसम्मकै ठुलो संख्या भएको बुग्टीको दाबी छ।
विद्रोही समूहले प्रान्तभरि सुरक्षा चौकी र सार्वजनिक स्थानहरूलाई लक्षित गरी आक्रमण गरेपछि सेनाले प्रतिआतंकवाद अभियान सुरु गरेको थियो। मुठभेडका क्रममा सुरक्षाकर्मी र प्रहरीले ज्यान गुमाएका छन् भने विद्रोहीको अन्धाधुन्ध आक्रमणमा परी सर्वसाधारणले समेत ज्यान गुमाउनुपरेको छ।
यसैबिच, पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले अहिले बलुचिस्तानभरि स्थिति नियन्त्रणमा आएको र शान्ति बहाल भएको बताएका छन्। उनले बाँकी रहेका सम्भावित खतराहरूलाई हटाउन सुरक्षा बलले विभिन्न क्षेत्रमा व्यापक खोजतलास ९सर्च अपरेसन० जारी राखेको जानकारी दिए। बीएलएले लामो समयदेखि बलुचिस्तानको स्रोतसाधनमाथि आफ्नो अधिकार हुनुपर्ने माग गर्दै पाकिस्तान सरकार विरुद्ध सशस्त्र विद्रोह गर्दै आएको छ।




