विराटनगर । मोरङको रंगेली नगरपालिका–५ धनपट्टीमा धारिलो हतियार प्रहारबाट एक दम्पतीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार मिति २०८२ माघ २० गते राति अन्दाजी २ः४५ बजे स्थानीय बलेशकुमार मण्डलको घरमा उनकी २० वर्षीया छोरी अम्बिका कुमारी मण्डल र अम्बिकाकै श्रीमान् २२ वर्षीय मुकेश कुमार मण्डल मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीलाई प्राप्त सूचनापछि इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले घटनास्थलको प्रारम्भिक जाँच गर्दा घरभित्रको कोठामा खाटमा महिलाको शव र घर बाहिरको आँगनमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनास्थल सुरक्षित राखी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मोरङबाट प्रहरी उपरीक्षक कवित कटवालको कमाण्डमा कोशी अस्पताल विराटनगरबाट फरेन्सिक चिकित्सकसहितको टोली खटिएको थियो। टोलीले घटनास्थलको सूक्ष्म निरीक्षण गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि दुवै शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ।
घटनास्थलबाट रगत लागेको अवस्थामा एक थान चक्कु समेत फेला परेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मोरङका सूचना अधिकारी नेपाल प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।




