विराटनगरमा लैंगिक हिंसाविरुद्ध सहकार्यको आवाज बलियो, सचेतनालाई मुख्य हतियार मानिँदै

विराटनगर ।
लैंगिक हिंसा अझै पनि समाजको गहिरो समस्या बनेर रहेको सन्दर्भमा विराटनगर महानगरपालिकाले यसविरुद्ध दीर्घकालीन रणनीतिसहित अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याएको छ। महानगरलाई लैंगिक हिंसामुक्त शहर बनाउने लक्ष्यसहित सरोकारवाला संघसंस्थाबीच सहकार्य अपरिहार्य रहेको निष्कर्षमा स्थानीय तह र विकास साझेदारहरू पुगेका छन्।

लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको दोस्रो चरण अन्तर्गत आयोजित स्थानीय परियोजना सल्लाहकार समितिको बैठकमा बोल्दै महानगर प्रमुख नागेश कोइरालाले हिंसा न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम नै सबैभन्दा प्रभावकारी उपाय भएको धारणा व्यक्त गरे। सीमित स्रोत–साधन हुँदाहुँदै पनि महानगरले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई समान प्राथमिकता दिएको उनले बताए।

उपप्रमुख शिल्पा निराला कार्कीले लैंगिक हिंसाविरुद्ध महानगरपालिकाले बजेट सुनिश्चित गरेर काम गरिरहेको उल्लेख गर्दै, हिंसा पूर्णरूपमा अन्त्य गर्न चुनौती भए पनि यसको प्रभाव घटाउन स्थानीय तहको भूमिका निर्णायक हुने बताइन्।

महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालले परियोजनाको दिगोपनामा महानगरको प्रतिबद्धता स्पष्ट पार्दै, संस्थागत समन्वयलाई अझ बलियो बनाइने जानकारी दिए।

परियोजनामा सहकार्य गरिरहेको एवीसी नेपालकी अध्यक्ष विष्णु शर्माले महानगरको निरन्तर सहयोगबिना दीर्घकालीन अभियान सम्भव नहुने बताउँदै हालसम्मको उपलब्धिमा स्थानीय सरकारको योगदान प्रशंसनीय रहेको उल्लेख गरिन्।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, प्रशासन र राजस्व महाशाखाका प्रतिनिधिहरू, माइती नेपाल, युएनएफपीए तथा साझेदार संस्थाहरूको उपस्थिति थियो। सीएमसी नेपालका प्रतिनिधिहरूले हालसम्मका गतिविधि, मनोसामाजिक तथा स्वास्थ्य सेवासम्बन्धी प्रगति प्रस्तुत गर्दै आगामी योजनाबारे जानकारी गराएका थिए। कार्यक्रममा महानगरको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतम, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मञ्जु लोहनी, माइती नेपालका विनोद पोखरेल, युएनएफपीएका प्रतिनिधि सरोज भुसाल लगायतको उपस्थितिमा भएको कार्यक्रममा सीएमसी नेपालकी मनोसामाजिक संयोजक निशा दाहाल र सि.एम.सी. नेपालका स्वास्थ्य संयोजक घनश्याम शर्माले समेतले परियोजनाले गरेका कार्यप्रगति आ–आफना विचार र कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा गत वर्षको समीक्षासहित आगामी योजनासमेत प्रस्तुत गरिएको थियो ।

विराटनगर महानगरको लागत साझेदारीमा युएनएफपीएको आर्थिक सहयोग तथा सीएमसी नेपाल र एवीसी नेपालको समन्वयमा सन् २०२१ जुलाईदेखि सञ्चालनमा रहेको यो परियोजनाले लैंगिक हिंसा न्यूनीकरणमा स्थानीयस्तरमै प्रभाव देखाउन थालेको सहभागीहरूको निष्कर्ष थियो।