विराटनगर। “पढाइपछि के गर्ने?” भन्ने अन्यौल चिर्दै विराटनगरका विद्यार्थीहरूलाई उद्यमशीलताको बाटो देखाउने प्रयास सुरु भएको छ। उद्योग संगठन मोरङले सञ्चालन गरेको ‘बिजनेस एट स्कुल’ कार्यक्रमको दोस्रो शृङ्खलामा विद्यार्थीहरूले कक्षा कोठाबाहिरको वास्तविक संसार नजिकबाट अनुभव गर्ने अवसर पाए।
विराटनगरस्थित सत्यनारायण माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरू सहभागी भए। कार्यक्रममा किताबमा सीमित ज्ञानभन्दा बाहिर निकाल्दै व्यवहारिक सीप र प्रविधिसँग विद्यार्थीलाई जोड्ने प्रयास गरिएको थियो।
मनमोहन पोलिटेक्निकको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको ‘टेस्ट द ट्रेनिङ’ सत्रमा विद्यार्थीहरूलाई इन्टरनेट अफ थिंग्स (IoT), अटोमेसन प्रणाली, सिसिटिभी जडान, मोबाइल तथा ल्यापटप मर्मत जस्ता आधुनिक सीपबारे आधारभूत जानकारी दिइयो। केही विद्यार्थीले पहिलो पटक आफ्नै हातले प्रविधिसँग काम गर्ने अवसर पाए।
कार्यक्रमलाई अझ रोचक बनाउँदै प्लास्टिक पुनः प्रयोगबाट तयार गरिएका सामग्रीहरूको प्रदर्शनी, करियर काउन्सिलिङ तथा भिआर प्रविधिमार्फत भर्चुअल उद्योग अवलोकन गराइएको थियो। विद्यार्थीहरूले आफ्ना नयाँ–नयाँ व्यवसायिक सोच प्रस्तुत गरे भने अनुभवी उद्यमीहरूबाट प्रेरणादायी अनुभव पनि सुन्न पाए।
कार्यक्रममा उद्योग संगठन मोरङका उपाध्यक्ष सुरेन्द्र गोल्छाले विद्यालय शिक्षालाई जीवन उपयोगी बनाउनुपर्नेमा जोड दिए।
“युवाहरूले विदेश मात्रै अवसर हो भन्ने सोच तोड्नुपर्छ। आफ्नै ठाउँमा पनि सम्भावना प्रशस्त छन्,” उनले भने, “यो कार्यक्रमले विद्यार्थीलाई आफ्नो रुचि र क्षमताअनुसार भविष्यको बाटो रोज्न सहयोग गर्छ।”
सत्यनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोज भट्टराईले यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास बढ्ने बताए।
“स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वास विद्यार्थीमा जगाउनु नै सबैभन्दा ठूलो उपलब्धि हो,” उनले भने।
उद्योग संगठन मोरङले ‘बिजनेस एट स्कुल’ कार्यक्रमलाई आगामी दिनमा अन्य विद्यालयहरूमा पनि विस्तार गर्ने जनाएको छ। स्वदेशमै उद्यम, स्वदेशमै भविष्य भन्ने सन्देश बोकेको यो पहलले विद्यार्थीहरूलाई नयाँ सोच र नयाँ सम्भावनातर्फ डोर्याउने विश्वास लिइएको छ।




