विराटनगर । मोरङको रंगेली नगरपालिका–२ जलियामा ३५ वर्षीया एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली–२ जलिया निवासी साईना मुर्मुको श्रीमती मोरङमई मुर्मु मिति २०८२ साल माघ २५ गते आफ्नै घरभित्रको कोठामा मृत अवस्थामा फेला परेकी हुन्। घटनाबारे सोही दिन दिउँसो १२:३० बजे प्रहरी कार्यालयमा सूचना प्राप्त भएको थियो।
सूचना प्राप्त भएपछि प्रहरी चौकी बबिया बिर्ता तथा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटिएर घटनास्थलमा प्रारम्भिक अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कोशी, विराटनगर पठाइएको छ।
घटनासम्बन्धी थप अनुसन्धानका लागि मृतकका श्रीमान् साईना मुर्मुलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीका अनुसार घटनाको कारणबारे पोस्टमार्टम रिपोर्ट तथा थप अनुसन्धानपछि मात्र स्पष्ट हुने छ।




