मुम्बई, माघ २५ ।
आइसिसी टी–२० विश्वकप २०२६ मा नेपालले उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम क्षणमा संयम गुमाउँदा इंग्ल्यान्डविरुद्ध जित हात पार्न सकेन। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा सम्पन्न समूह ‘सी’ को खेलमा नेपाल ४ रनले पराजित भयो।
१८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र जोड्न सक्यो। अन्तिम ओभरमा १० रन आवश्यक रहँदा नेपालले ५ रन मात्र जोड्न सक्यो र खेल इंग्ल्यान्डको पक्षमा गयो।
नेपालको सुरुआत मध्यम रह्यो। ओपनर आशिफ शेख ७ रनमा आउट हुँदा कुशल भुर्तेलले १७ बलमा २९ रन बनाए। दुवैबीच ३.५ ओभरमा ३७ रनको साझेदारी भयो, जुन टी–२० विश्वकपमा नेपालको हालसम्मकै सर्वाधिक ओपनिङ साझेदारी हो।
मध्यक्रममा कप्तान दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलले इनिङ सम्हाले। तेस्रो विकेटका लागि उनीहरूबीच ८२ रनको महत्वपूर्ण साझेदारी भयो। ऐरीले २९ बलमा ४४ रन बनाउँदै टी–२० अन्तर्राष्ट्रियमा २ हजार रन पूरा गर्ने नेपाली खेलाडी बने। रोहितले ३४ बलमा ३९ रन जोडे।
तर १५औं ओभरपछि लगातार विकेट खस्दा नेपालको लय बिग्रियो। आरिफ शेख १० रनमा आउट भए पनि लोकेश बमले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै खेललाई रोमाञ्चक बनाए। बमले जोफ्रा आर्चरलाई लगातार दुई छक्का प्रहार गर्दै नेपाललाई अन्तिम दुई ओभरमा २४ रनको समीकरणमा पुर्याए।
अन्तिम ओभरमा १० रन आवश्यक रहँदा साम कुरानको बलिङमा नेपाल लक्ष्यमा पुग्न सकेन। लोकेश बमले २० बलमा ३९ रनको अविजित संघर्ष गरे पनि जितका लागि पर्याप्त भएन।
यसअघि टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले जेकब बेथेल र कप्तान ह्यारी ब्रुकको अर्धशतकको मद्दतमा ७ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। बेथेलले ३५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे भने ब्रुकले ५३ रनको योगदान दिए। विल ज्याक्सले १८ बलमा ३९ रन अविजित रहँदै अन्तिम ओभरमा खेल पल्टाए।
नेपालका लागि बलिङतर्फ दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिए। ऐरी टी–२० विश्वकपमा नेपालका सर्वाधिक विकेट लिने बलरसमेत बने।
यस्तै, रोहित पौडेल टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक खेलमा कप्तानी गर्ने खेलाडी बने।
अब नेपालले माघ २९ गते इटालीसँग दोस्रो खेल खेल्नेछ। त्यसपछि फागुन ३ मा वेस्ट इन्डिज र फागुन ५ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। सबै खेल मुम्बईमै हुनेछन्।




