काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा भएका छन्।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार आइतबार सरकारी वकिलको कार्यालय, काठमाडौँले प्रसाईंलाई हाजिर जमानीमा छाड्ने निर्णय गरेको हो।
निर्वाचन आयोगको उजुरीका आधारमा साइबर ब्युरोले प्रसाईंलाई शुक्रबार नियन्त्रणमा लिएको थियो। उनीमाथि निर्वाचन प्रक्रिया प्रभावित पार्ने प्रयास गरेको तथा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाइएको थियो।
त्यसैगरी, विद्युतीय कारोबार ऐन, २०७४ को दफा ४७ अनुसार अनुसन्धानका लागि पक्राउ गरिएको प्रसाईंलाई आइतबार म्याद थपका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइँदा हाजिर जमानीमा रिहा गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनासम्बन्धी अनुसन्धान भने जारी नै रहनेछ।




