सिटि सफारी लक्षित ‘सुरक्षित चालक’ पोशाक वितरण

विराटनगर, माघ २६ गते ।
सवारी दुर्घटना न्यूनीकरण तथा सिटि सफारी सञ्चालनलाई सुरक्षित, अनुशासित र व्यवस्थित बनाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा सवारी चालक अनुमति पत्र प्राप्त सिटि सफारी (ई–रिक्सा) चालकहरूलाई ‘सुरक्षित चालक’ पोशाक वितरण गरिएको छ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा विराटनगर महानगरपालिका–१ स्थितमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सिटि सफारी चालकहरूलाई ‘सुरक्षित चालक’ लेखिएको नम्बर सहितको ज्याकेट प्रदान गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले सवारी चालक अनुमति पत्र प्राप्त गरी नियमअनुसार सवारी सञ्चालन गर्ने चालक नै वास्तविक सुरक्षित चालक भएको उल्लेख गर्नुभयो। चालकको पहिचान झल्किने पोशाकले जिम्मेवारी बोध गराउने र सवारी दुर्घटना न्यूनीकरणमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
“बर्दीमा रहेका प्रहरी जस्तै सुरक्षित चालकको जिम्मेवारी लिएका सिटि सफारी चालकहरूले पनि ट्राफिक नियमको पूर्ण पालना गर्दै यात्रु सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्छ,” उहाँले भन्नुभयो। साथै, ट्राफिक प्रहरी कर्मचारीहरूलाई सवारी चालक, सह–चालक तथा सडक प्रयोगकर्ताप्रति समान व्यवहार गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिनुभयो।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीले छोटो दूरीको यात्रामा उपयोगी सिटि सफारीहरू असुरक्षित ढंगले सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले चालक पोशाक वितरण गरिएको बताउनुभयो। पोशाकको प्रयोगले ट्राफिक नियमको पालना बढ्ने, सवारी दुर्घटना न्यूनीकरण हुने र सिटि सफारी सञ्चालनलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शन्तोष न्यौपानेले कोशी प्रदेशको राजधानी तथा औद्योगिक क्षेत्र विराटनगरमा सिटि सफारीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सुरक्षित चालक अभियानअन्तर्गत पोशाक वितरण गरिएको जानकारी दिनुभयो। सिटि सफारी दर्ता तथा अभिलेखीकरण गर्दै चालकहरूलाई ट्राफिक नियम र सुरक्षित सवारी सञ्चालनसम्बन्धी नियमित तालिमसमेत प्रदान गरिने उहाँले बताउनुभयो।

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र प्रसाद दुलालले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका सिटि सफारीलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन स्थानीय तह सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सिटि सफारी चालक संघका प्रतिनिधि भगवान बस्नेतले चालक पोशाकले अनुशासन र जिम्मेवारी बढाउने भएकाले सवारी दुर्घटना न्यूनीकरणमा प्रभावकारी हुने बताउनुभयो।

कार्यक्रममा प्रमुख अतिथि घिमिरेसहित अतिथिहरूले चालक पोशाकको अनुमोदन गर्दै ट्राफिक नियमको पालना र सुरक्षित यात्राको कामनासहित सिटि सफारी चालकहरूलाई पोशाक वितरण गर्नुभएको थियो।

कार्यक्रममा यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख गोपाल दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कट्वाल, महेन्द्र मोरङ बहुमुखी क्याम्पसकी उप–प्राध्यापक मनिता भण्डारी, पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक, विकल्प एण्ड अल्टरनेटिभका अध्यक्ष बसन्त अधिकारी, आईटी इन्जिनियर सन्देश पोखरेल, प्रहरी अधिकारी तथा कर्मचारी, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, सिटि सफारी चालक संघका प्रतिनिधि तथा चालकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।