राजस्व चुहावट आरोपमा लत्ताकपडा बोकेका दुई ट्रक नियन्त्रणमा

विराटनगर, माघ २६ गते ।
बिल–बिजकभन्दा बढी सामान लोड गरी कम मूल्याङ्कनमार्फत राजस्व चुहावट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले दुईवटा ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मिति २०८२ माघ २५ गते साँझ करिब ५ बजे विराटनगर महानगरपालिका–१४ अन्तर्गत रानी–रोडशेष सडकखण्डमा रहेको नेपाल टेलिकम कार्यालय अगाडि भारतबाट नेपालतर्फ आउँदै गरेका दुईवटा ट्रक जाँचका क्रममा नियन्त्रणमा लिइएका हुन्।

नियन्त्रणमा लिइएका ट्रकमध्ये सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–९ का ४९ वर्षीय ऋषिराम पौडेलले चलाएको प्र ३–०१–००५ ख ९४२५ नम्बरको ट्रक र रामेछापको मन्थली नगरपालिका–१० का ३७ वर्षीय कुमार बुढाथोकीले चलाएको प्र ३–०१–००६ ख १३०८ नम्बरको ट्रक रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती ट्रकहरूमा लोड गरिएको लत्ताकपडालगायतका सामानहरू बिल–बिजकभन्दा बढी मात्रामा रहेको र कम मूल्याङ्कन गरी राजस्व छल्ने प्रयास गरिएको भन्ने सूचनाको आधारमा जाँच गरिएको थियो। जाँचका क्रममा ट्रकमा रहेका सामानहरूको अन्दाजी मूल्य १ करोड ८१ लाख २६ हजार ८७ रुपैयाँ बराबर रहेको पाइएको छ।

दुवै ट्रक, लोड गरिएका सामान तथा चालकहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइ थप आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।