सानो हतियार र हेण्डसेटसहित दुई जना पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिकाबाट सानो हतियार, हेण्डसेट र भरुवा बन्दुक जस्तो देखिने काठको हतियारसहित दुई जना व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार मिति २०८२ माघ २६ गते बेलुका करिब ६ बजे सुन्दरहरैचा नगरपालिका–२ बेलडाँगीस्थित २८ वर्षीय सिलास लिम्बुको घरमा अवैध हतियार लुकाइछिपाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको संयुक्त प्रहरी टोलीले घर तलासी गरेको थियो।

तलासीका क्रममा लिम्बु सुत्ने कोठाबाट “BMG INL USA” लेखिएको पेस्तोल १ थान, “DABLING” लेखिएको हेण्डसेट २ थान तथा भरुवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा बरामद हतियारहरू सुन्दरहरैचा नगरपालिका–३ निवासी २९ वर्षीय प्रेम बहादुर गुरुङबाट लिएको भन्ने खुल्न आएपछि प्रहरीले गुरुङलाई समेत घरमै फेला पारी नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनालाई बरामद हतियारसहित इलाका प्रहरी कार्यालय बेलबारीमा राखी आवश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए।