पूर्वाञ्चल विश्वविद्यालय परिसरमा बिहीबारदेखि अन्तर्राष्ट्रिय सम्मेलन सुरु

अन्तर्राष्ट्रिय सम्मेलन सुरु

विराटनगर । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा बिहीबारदेखि अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलन पूर्वाञ्चल विश्वविद्यालयको आयोजनामा भएको हो । “इनभिजिनिङ द हिमालयन फ्युचरः पाथवे टु सस्टेनेबिलिटी एण्ड डेभलपमेन्ट” शीर्षकमा आयोजित सम्मेलनमा १९४ वटा अनुसन्धानमूलक लेख प्रस्तुत गरिएका छन् ।

सम्मेलनमा कला, कानून तथा शिक्षा, व्यवस्थापन, इन्जिनियरिङ, विज्ञान तथा प्रविधि, मेडिसिन एण्ड हेल्थ साइन्स गरी पाँच विषय क्षेत्रमा केन्द्रित रहेर छलफल भइरहेको छ ।

सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा. देवराज अधिकारीले अन्तर्राष्ट्रिय सम्मेलनहरूको महत्वमाथि प्रकाश पार्नुभयो । यस्ता सम्मेलनहरूले विकास, व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विश्वविद्यालयहरूबीचको सहकार्यमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

बिहीबार तीनवटा प्लेनरी सेसन र एकवटा टेक्निकल सेसन सञ्चालन भएका छन् ।

पहिलो सत्रमा सिनासका कार्यकारी निर्देशक प्राध्यापक डा. मृगेन्द्रबहादुर कार्की र नर्वेका प्राध्यापक स्टेन डब्ल्यु. वालेस मुख्य वक्ताका रूपमा सहभागी हुनुहुन्थ्यो । दोस्रो सत्रमा चुलालोङकोर्न विश्वविद्यालय (थाइल्याण्ड) का प्राध्यापक डा. किटाइङ आङसुली, स्टेट युनिभर्सिटी अफ इन्टरनल अफेयर्स (पोल्याण्ड) का प्राध्यापक राफल लिजुट तथा नर्थ वेस्ट युनिभर्सिटी (दक्षिण अफ्रिका) का प्राध्यापक लुसिस बोटेज मुख्य वक्ताका रूपमा रहनुभएको थियो ।

तेस्रो सत्रका प्रमुख वक्ताका रूपमा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. सुदन झा, बी.एम.एल. विश्वविद्यालय (भारत) का प्राध्यापक अनिरुद्ध अग्रवाल तथा एशिया प्यासिफिक ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालुज (नेदरल्यान्ड्स) का उपेन्द्रप्रसाद पौड्याल रहनुभएको थियो ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. विजुकुमार थपलियाले सम्मेलनको उद्देश्य र महत्वबारे जानकारी गराउँदै सहभागी तथा अतिथिहरूलाई स्वागत गर्नुभयो । कार्यक्रममा रजिस्ट्रार प्राध्यापक डा. कल्याणी मिश्रले अतिथि तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।