विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा निर्वाचनको माहोल तातिँदै जाँदा जीवन घिमिरे ले अघिल्लो कार्यकालमा गरेका कामलाई नै आगामी चुनावको मुख्य आधार बनाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार घिमिरेले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी ३३ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरे ।
प्रदेश सांसद तथा मन्त्रीको जिम्मेवारीमा रहँदा गरेका कामको सूचीसहित उनले आगामी कार्यकालका प्राथमिकता प्रस्तुत गरेका हुन् । उनले नेपालमै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना, विद्यालय नर्सिङ कार्यक्रमको सुरुवात तथा कोभिड महामारीका बेला १५ दिनमै अत्याधुनिक अस्पताल सञ्चालन गरेर हजारौँ नागरिकको जीवन जोगाउन भूमिका खेलेको दाबी गरे ।
घिमिरेका अनुसार खेलकुद र सामाजिक क्षेत्रमा पनि उल्लेखनीय काम भएका छन् । विराटनगर स्थित सहिद रंगशालामा रात्रिकालीन खेलका लागि फ्लडलाइट जडान, कोशी प्रदेशमा ‘एक पालिका एक खेल मैदान’ अवधारणा, घरेलु हिंसा नियन्त्रणसम्बन्धी ऐन निर्माण, जेष्ठ नागरिकलाई दन्त उपचार सहयोग तथा अपाङ्गता रोकथाम कार्यक्रम आफ्ना उपलब्धि भएको उनले बताए ।
यस्तै, धार्मिक–सांस्कृतिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रामा हेलिकोप्टरबाट पुष्पवृष्टि गर्ने परम्पराको थालनी पनि आफ्नै पहलमा भएको घिमिरेको भनाइ छ ।
आगामी योजनामा उनले कृषि, स्वास्थ्य र पूर्वाधारलाई केन्द्रमा राखेका छन् । कटहरी, ग्रामथान र बेलबारी क्षेत्रमा तरकारी पकेट विकास, झोराहाटमा कोल्ड स्टोर निर्माण र तमोर–चिसाङ डाइभर्सन परियोजना अघि बढाउने प्रतिबद्धता उनले जनाए ।
स्वास्थ्य क्षेत्रमा बेलबारी, ग्रामथान र कटहरीमा १००–१०० बेडका अस्पताल स्थापना, कोशी कोभिड अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन र स्वास्थ्य बिमा सुविधा पुनः एक लाख रुपैयाँसम्म कायम गराउने योजना सार्वजनिक गरिएको छ ।
पूर्वाधारतर्फ विराटनगर रिङरोडको बाँकी काम सम्पन्न गर्ने, कटहरीमा रेलवे स्टेसन निर्माण गरी रेल सेवा सञ्चालन गर्ने तथा सुकुम्बासी समस्या समाधानका लागि जग्गाधनी पुर्जा वितरणलाई प्राथमिकतामा राखिएको छ ।
भ्रष्टाचार नियन्त्रण, सूचना प्रविधिमा आधारित आइटी हब स्थापना र खोलानालामा तटबन्ध निर्माणजस्ता योजनासहित घिमिरेले आफूलाई ‘काम गरेर देखाएको उम्मेदवार’ का रूपमा मतदातासमक्ष प्रस्तुत गरेका छन् ।




