विराटनगर । मोरङ जिल्लाको जहदा गाउँपालिका क्षेत्रमा जमिन खनेर लुकाइ राखिएको ठूलो परिमाणको गाँजा सुरक्षाकर्मीले बरामद गरेका छन्। शनिबार बिहान गरिएको खानतलासीका क्रममा २ सय ७५ किलोभन्दा बढी गाँजा फेला परेको हो।
प्रहरीका अनुसार खाल्डो खनेर माथिबाट परालले छोपिएको अवस्थामा कालो प्लास्टिकमा प्याक गरिएको ९ पोका गाँजा भेटिएको हो। तौल गर्दा कुल २ सय ७५ किलो ८ सय ग्राम रहेको पुष्टि गरिएको छ।
गोप्य सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल को संयुक्त टोली बिहान करिब ६ बजे उक्त स्थानमा पुगेको थियो। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीका डीएसपी तिलकबहादुर खड्का तथा इलाका प्रहरी कार्यालय रानी का इन्स्पेक्टर कविन राईको नेतृत्वमा खोजतलासी गरिएको थियो।
खोजीका क्रममा जहदा गाउँपालिका–१ का करिब २८ वर्षीय चन्दनकुमार साहको संलग्नता देखिएपछि उनलाई आफ्नै घरको कोठामा लुकिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बरामद गाँजा र पक्राउ परेका साहलाई हाल इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।
प्रहरीले साहविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरिरहेको जनाएको छ। साथै, गाँजा कहाँबाट ल्याइएको हो, कता लैजान खोजिएको थियो र यस कारोबारमा अन्य को–को संलग्न छन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।
बरामद स्थल नेपाल–भारत सीमा नजिकै रहेकाले गाँजा भारततर्फ तस्करी गर्ने उद्देश्यले सीमावर्ती क्षेत्रमा भण्डारण गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।




