विराटनगर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सुरक्षा निकायले सम्भावित जोखिमको मूल्याङ्कन तीव्र बनाएको छ। निर्वाचनलाई शान्तिपूर्ण बनाउन भन्दै प्रहरीले १२ वटा समूहलाई विशेष निगरानी सूची (वाचलिस्ट) मा राखेको छ।
सुरक्षा विश्लेषण अनुसार, यी समूहहरूबाट चुनावी वातावरणमा असहजता सिर्जना हुन सक्ने आँकलन गरिएको हो। निगरानीमा परेका समूहहरूमा दुर्गा प्रसाईं नेतृत्वको समूह, ज्ञानेन्द्र शाह निकट शाही युवा शक्ति, सीपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) रहेका छन्।
त्यसैगरी वैज्ञानिक समाजवादी, पहिचानवादी समूह र रोहिंग्या शरणार्थीसम्बन्धी गतिविधिलाई पनि सुरक्षा चुनौतीको सूचीमा समेटिएको छ।
निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन प्रहरी वरिष्ठ उपरीक्षक दयानिधि ज्ञवाली को कमान्डमा विशेष विश्लेषण महाशाखा गठन गरिएको छ। यो महाशाखाले सूचना संकलन, जोखिम विश्लेषण र त्वरित प्रतिकार्यमा केन्द्रित भएर काम गरिरहेको सुरक्षा निकायले जनाएको छ।
प्रहरीका अनुसार हालसम्म निर्वाचन बिथोल्ने प्रयासमा संलग्न १६ जनालाई नियन्त्रणमा लिइसकिएको छ। अघिल्ला निर्वाचनहरू बहिष्कार गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी भने यसपटक निर्वाचन प्रक्रियामा सहभागी भएको छ।
सुरक्षा निकायको निष्कर्षमा, यी समूहहरूबाट चुनौतीको सम्भावना रहे पनि निर्वाचन नै प्रभावित पार्ने हैसियत उनीहरूसँग नरहेको ठहर गरिएको छ।




