विराटनगर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङमा तयारी तीव्र बनेको छ। यसपटक जिल्लाका सबै ६ वटा निर्वाचन क्षेत्रको मतगणना सम्बन्धित क्षेत्रमै गर्ने निर्णय गरिएको छ, जसले मत परिणाम सार्वजनिक प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगाल ले तयारीबारे जानकारी दिँदै यसपटक मतगणना विकेन्द्रित ढंगले गरिने बताए।
उनका अनुसार मोरङका ३०६ मतदान स्थल र ८८८ मतदान केन्द्रमा कर्मचारी खटाउने तयारी अन्तिम चरणमा पुगेको छ। करिब ५ हजार ३४६ कर्मचारी परिचालन हुनेछन् भने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आवश्यक तालिम दिइसकिएको छ। जिल्ला कारागार मोरङ र आदर्श पुस्तकालयमा अस्थायी मतदान केन्द्रसमेत व्यवस्था गरिएको छ।
यी हुन् ६ निर्वाचन क्षेत्रका मतगणना स्थल
क्षेत्र नम्बर १ – उर्लाबारी नगरपालिका
क्षेत्र नम्बर २ – विश्वनाथ मन्दिर
क्षेत्र नम्बर ३ – भगवती मावि
क्षेत्र नम्बर ४ – जनता नमुना मावि
क्षेत्र नम्बर ५ – सुनसरी–मोरङ सिँचाइ आयोजना को कार्यालय
क्षेत्र नम्बर ६ – आदर्श मावि
निर्वाचन कार्यालयका अनुसार सबै मतगणना स्थलमा तारजाली, सीसीटीभी क्यामेरा र सुरक्षाकर्मीको कडा व्यवस्था गरिनेछ।
मोरङमा यसपटक ७ लाख ८३ हजार ५० मतदाता रहेका छन्। सुरक्षा निकाय र निर्वाचन कार्यालयले स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा मतदान सम्पन्न गर्ने दाबी गरेका छन्।




