विराटनगर। मोरङको कटहरी गाउँपालिकाबाट स्रोत नखुलेको नगद ४ लाख ६२ हजार ५ सय रुपैयाँ बरामद गरिएको छ। रकम ओसारपसारमा प्रयोग गरिएको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङ का प्रमुख एसपी कवित कटवालका अनुसार हुलाकी सडक खण्डअन्तर्गत कटहरी गाउँपालिका–३ बाट उक्त रकम बरामद गरिएको हो। इन्स्पेक्टर अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले प्रदेश १–०२–००२ च ६६१० नम्बरको टाटा योद्धा पिकअप गाडी नियन्त्रणमा लिएर खानतलासी गरेको थियो।
विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको गाडीलाई मंगलबार राति करिब १ः३५ बजे रोकेर जाँच गर्दा स्रोत नखुलेको नेपाली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ। त्यसपछि रकमसहित गाडी र चालकलाई नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका चालक जहदा गाउँपालिका–२ का अन्दाजी २४ वर्षीय विशाल टुडू रहेका छन्। बरामद रकम, गाडी र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।
प्रहरीका अनुसार बरामद रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




