रातोपाटी
सारांश
निर्वाचनमा मधेसवादी दलको चर्चा कम देखिएको छ, कतिपय नेताले आफ्नो व्यक्तिगत क्षमताले जित्ने बाहेक अरूको अवस्था कमजोर रहेको बताएका छन्।
मधेसवादी दलहरूले संघीय, प्रदेश र स्थानीय सरकारमा राम्रो प्रदर्शन गर्न नसक्दा यस्तो अवस्था आएको विश्लेषण गरिएको छ।
विभिन्न मधेसवादी दलका नेताहरू एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्, तर चुनावी नतिजा आफ्नो पक्षमा पार्न उनीहरूलाई कडा मेहनत गर्नुपर्ने देखिएको छ।
काठमाडौँ । यसपटकको निर्वाचनमा मधेसवादी दलको खासै चर्चा छैन । यस्तो देखेर धेरैले भन्न थालेका छन्, ‘यसपालि त मधेसकेन्द्रित दलको पत्ता साफ नै होलाजस्तो छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) को बढ्दो लहरबिच मधेसमै पनि मधेसवादी दलहरू ओझेलमा पर्न थालेको देखिएको छ । यतिबेला मधेसवादी दलले जित्ने सिटबारे चर्चा हुनु स्वाभाविक नै हो । उनीहरूको स्थिति कमजोरै हो त मधेस मामिलाका जानकार चन्द्रकिशोर भन्छन्, ‘अवस्था खराब नै छ, कुनै नेता आफ्नो व्यक्तिगत क्षमताले जिते भने त्यो बेग्लै कुरा हो, त्यसबाहेक सबैको हालत खराब देखिएको छ ।’ संगठनको बलमा जित्ने अवस्था कुनै पनि दलको नभएको र पार्टी अध्यक्षहरू नै ढुक्क हुने अवस्थामा नभएका उनले बताए । मधेसवादी दलहरू ‘पत्ता साफ’ नभए पनि ‘वेभ’ भने नेदेखिएको उनको बुझाइ छ ।
‘मधेसवादी दलका लागि यो पतझडको मौसम हो, वसन्त आउँदैन,’ उनले भने, ‘मधेसवादी दलले संघीय सरकारदेखि प्रदेश सरकार र स्थानीय सरकारमा गरेको प्रदर्शन (पर्फमेन्स) राम्रो नभएको कारण अहिलेको अवस्था आएको हो ।’ जेनजी आन्दोलन भए पनि मधेसवादी दलको संरचनामा कुनै फेरबदल नभएको, टिकट वितरणमा पनि केही फरकपन नदेखिएको उनको बुझाइ छ ।
कुन नेताको अवस्था कस्तो
जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल र तराई मधेसमा गठन भएका अन्य दलहरू यतिबेला चुनावमा होमिएका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ बाट चुनाव उठेका छन् । जसपा नेपालका संरक्षक महन्थ ठाकुर राष्ट्रिय सभा सदस्यमा निर्वाचित भइसकेका छन् ।
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो सर्लाही–२, जनमत पार्टीका अध्यक्ष डा= सीके राउत सप्तरी–२ बाट उम्मेदवार बनेका छन् । तर उनीहरूको अवस्था पहिलेझैँ छैन, चुनावी नतिजा आफ्नो पक्षमा पार्न सबैले कडा परिश्रम गर्नुपर्ने देखिएको छ । मधेसकेन्द्रित दलहरूका बिचमा मोर्चा बने पनि त्यो यो चुनावमा भने निष्क्रिय रह्यो, अर्थात् नेताहरूले पर्याप्त तालमेल जुटाउन सकेनन् ।
मधेसवादी दलहरू यसपटक एक्लाएक्लै निर्वाचनमा होमिएका छन् । यद्यपि राष्ट्रिय मुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र जसपा (अशोक राई)ले एउटै चुनाव चिह्न निर्वाचनमा भाग लिएका छन् । त्यसबाहेक अरू कुनै पनि दलहरूका बिचमा कुनै प्रकारको सहमति भएको छैन । रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले विभिन्न पाँचवटा साना दलसँग गठबन्धन बनाए पनि त्यसको खासै प्रभाव देखिएको छैन ।
अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीका नेताहरू विभिन्न दलबाट चुनाव लडेका छन् । उक्त पार्टीका अध्यक्ष अनिलकुमार झा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन्, उनले नेकपाका सहसंयोजक माधवकुमार नेपालसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने छ ।
जसपा नेपालका नेता शरतसिंह भण्डारीको अवस्था पनि यसअघिका निर्वाचनजस्तो छैन, उनलाई कांग्रेसका किरण यादवले ठुलो चुनौती दिने देखिन्छ । जसपा नेपालका संरक्षक महन्थ ठाकुरले महोत्तरी–३ मा आफ्नी छोरी डा. मीनाक्षी यादवलाई उम्मेदवार बनाएका छन्, त्यहाँ जसपा नेपालकै विद्रोही उम्मेदवार हरिनारायण यादवसँग कडा प्रतिस्पर्धा हुने आकलन छ ।
२०७९ को निर्वाचनमा जसपा नेपालबाट सिरहा–२ बाट जितेका राजकिशोर यादव यसपटक सिरहा–४ बाट उम्मेदवार बनेका छन् । उनलाई रास्वपाका तपेश्वर यादवले टक्कर दिएका छन् । रास्वपाका समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवको क्षेत्र भएको कारण त्यो क्षेत्रमा रास्वपाको प्रभाव बढी नै देखिएको छ ।
विगतमा जसपा नेपालबाट जितेका डा= वीरेन्द्र महतो यसपटक जनमत पार्टीबाट उम्मेदवार छन् । विभिन्न दल मिलेर बनेको नेकपाबाट अजय शंकर नायक यहाँ उम्मेदवार छन् । यी दलहरूबिच कडा प्रतिस्पर्धा हुने देखिएकाले यसपटक राजकिशोरका लागि पनि सहज नभएको विश्लेषण भइरहेको छ ।
गत निर्वाचनमा कांग्रेसका विनोद चौधरीसँग हारेका हृदयेश त्रिपाठी यसपटक जनता समाजवादी पार्टी नेपालबाट नवलपरासी–१ मा उम्मेदवार बनेका छन् । यसपटक पनि उनले उनै चौधरीसँग प्रतिस्पर्धा गरिरहेका छन् ।
जसपा नेपालकै सर्वेन्द्रनाथ शुक्ला रूपन्देही–४ मा उम्मेदवार छन्, उनले अघिल्लो पटक यहीँबाट जितेका थिए । तर यसपटक उनलाई पनि कठिन देखिएको छ । नेपाली कांग्रेसबाट आशुतोष मिश्र, जनमत पार्टीबाट भूपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कन्हैया बानियाँले उम्मेदवारी दिएका छन् । गत निर्वाचनमा लोसपाबाट प्रदेशसभा जितेका उनी राजीनामा दिएर रास्वपाबाट उम्मेदवार बनेका छन् । त्यसले पनि जसपा नेपालका शुक्लालाई असर पर्ने देखिएको छ ।
राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष डा. राजीव झा धनुषा–३ बाट उम्मेदवार थिए । तर उनले पार्टीबाट राजीनामा दिएर रास्वपामा प्रवेश गरी मनीष झालाई समर्थन गरिसकेका छन् । आफ्नै उम्मेदवारले रास्वपालाई समर्थन गरिसकेपछि रामुपाले धनुषा–३ मा कांग्रेसलाई समर्थन गरेको छ ।
त्यस्तै, सप्तरी–३ का रामुपाका उम्मेदवार गजेन्द्र मण्डलले कांग्रेसका उम्मेदवार दिनेश यादवलाई समर्थन गरेका छन्, दिनेशले यसअघि पनि त्यहाँबाट चुनाव जितेका थिए । यो क्षेत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि उम्मेदवार छन् । जसपा नेपाल र रामुपा एउटै मोर्चामा छन् तर गजेन्द्र मण्डलले उपेन्द्र यादवलाई समर्थन नगरेर कांग्रेसका दिनेश यादवलाई समर्थन गरेका छन्, त्यसैले पनि मधेसवादी दलहरूका बिचमा दूरी छ भन्ने पुष्टि हुन्छ ।
मधेसमा दलहरूको शक्ति
३६ लाख ३६ हजार ४१४ मतदाता रहेको मधेस प्रदेशले प्रत्यक्ष तथा समानुपातिक गरेर करिब ५५ जना सांसद चयन गर्छ, जुन दलले त्यहाँबाट सबभन्दा बढी उम्मेदवार जिताउँछन्, त्यही दल नै मुख्यतः देशको सबभन्दा ठुलो दल बन्ने गरेको अहिलेसम्मको चुनावी नतिजाले देखाएको छ । त्यसैले मधेस प्रदेशका लागि चुनावी रणनीति, नेतृत्वको उपस्थितिलगायतमा मधेसलाई केन्द्रमा राखिने गरिएको छ ।
मधेस प्रदेसका आठ जिल्लामा ३२ वटा क्षेत्र छन् । गत चुनावमा जसपा नेपालले २ लाख ९८ हजार ७४४ मत ल्याएको थियो भने जनमत पार्टीले २ लाख ९६ हजार ४८४ मत ल्याएको थियो । २०७९ मा कांग्रेस सबैभन्दा ठुलो दल भएको थियो । त्यसले चार लाख ३४ हजार ९७१ मत ल्याएको थियो भने एमालेले तीन लाख ७१ हजार ९७१ मत ल्याएको थियो । नेकपा तत्कालीन माओवादी)ले एक लाख ७९ हजार ७८०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७२ हजार ९३५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ६८ हजार ६५३ मत ल्याएका थिए ।
महन्थ ठाकुर नेतृत्वको तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस), रञ्जिता श्रेष्ठ नेतृत्वको तत्कालीन नागरिक उन्मुक्ति पार्टी, मो. रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टीले थ्रेसहोल्ड पनि कटाएका थिएनन् ।
जसपा नेपालसँग एकता गरिसकेको तत्कालीन लोसपा नेपालले एक लाख नौ हजार ३९०, नेकपा (एस) एक लाख सात हजार ८४, नेकपासँग एकता गरिसकेको तत्कालीन नागरिक उन्मुक्ति पार्टीले ४१ हजार १, नेपाल संघीय समाजवादी पार्टीले ३८ हजार ३१२ र बहुजन एकता पार्टीले १५६ हजार ७७४ मत ल्याएका थिए ।
सोचमा परिवर्तन आएन
मधेसवादी दलहरूको अवस्था अघिल्लो निर्वाचनजस्तो पनि नरहने सामाजिक अनुसन्धानकर्मी सोहन साह बताउँछन् । ‘अहिले मधेसमा युवा मधेसवादी दलको नाम पनि सुन्न तयार देखिएका छैनन्, मधेसवादी दलप्रति खासै उत्साह छैन ।’ उनको विचारमा यस्तो हुनुको एउटै कारण, मधेसवादी दलहरू परिष्कृत नहुनु हो । पुरानै शैली र सोचका साथ चुनावमा गएकाले मधेसवादी दलप्रति खासै आकर्षण नदेखिएको उनको तर्क छ ।
मधेसका विभिन्न जिल्ला घुमेर जनकपुर फर्केका अनुसन्धानकर्मी साह भन्छन्, ‘पत्तासाफ नै त हुँदैन, सांगठनिक मतले कोही कोहीले जित्न सक्छन् । चुनाव नजिते पनि मत आउन सक्छ ।’
भारतमा मायावतीको पार्टीले चुनाव नजिते पनि राम्रो मत ल्याएको उदाहरण दिँदै उनले भारतीय कांग्रेसले राम्रो मत ल्याएको बताए । ‘मधेसवादी दलको पनि त्यस्तै हुन्छ, चुनाव नजिते पनि सम्मानजनक मत सबैतिर आउँछ,’ उनले भने ।




