इतिहास फेर्न लम्किएका बालेनको विद्रोह

अमृत चिमरिया
सारांश
बालेनले काठमाडौंको मेयर पद त्यागेर देशको नेतृत्व लिने जोखिमपूर्ण निर्णय लिएका थिए।
झापामा बालेनले केपी शर्मा ओलीलाई पराजित गर्दै नेपाली राजनीतिमा नयाँ युगको सुरुवात गरे।
बालेनको उदयले युवा पुस्ताको आशा जगाएको छ र सुशासनको बाटो खोलेको छ।
‘इतिहास भनेको फेरिने चिज हो भाइ, बालेन अहिलेसम्म आएको थिएन,’ केही वर्ष अगाडि काठमाडौँको गल्लीमा गुञ्जिएको एउटा र्‍यापको पङ्ति थियो । त्यतिबेला यो केवल एउटा ठिटो बालेनको जोशिलो र्‍यापको लय मात्र थियो । तर समयको चक्रले यसलाई नेपाली राजनीतिको सबैभन्दा कठोर र यथार्थ सावित गरिदियो । आज काठमाडौँका सडकदेखि झापाका फाँटसम्म बालेन एउटा नाम मात्र रहेनन्, उनी नेपाली राजनीतिमा दशकौँदेखि जकडिएको पुरातन शैलीलाई भत्काउने एउटा शक्ति भएर उदाए ।

२०७९ को स्थानीय निर्वाचनमा काठमाडौँको मेयरका रूपमा अप्रत्याशित विजयी भएका बालेनले जुन राजनीतिक चमत्कारको बीजारोपण गरेका थिए, त्यसले आज देशकै शासन व्यवस्थाको स्वरूप बदल्ने गरी विशाल वृक्षको आकार ग्रहण गरेको छ ।

बालेनको राजनीतिक यात्रा कुनै परम्परागत विरासत वा दलीय आशीर्वादबाट सुरु भएको थिएन । राजनीतिक दलको किल्लाको रुपमा रहेको राजधानी काठमाडौँ महानगरपालिकामा स्वतन्त्र व्यक्ति मेयर जितेर ‘सरप्राइज’ दिएका उनले महानगरभित्रका अनधिकृत संरचनामा डोजर चलाउँदा धेरैले त्यसलाई केवल एउटा पपुलिस्ट कदमका रूपमा मात्र हेरेका थिए । तर त्यो डोजर केवल सिमेन्ट र बालुवाका पर्खालहरूमा मात्र चलेको थिएन, त्यसले त नेपाली जनताको मानसपटलमा बसेको ‘केही हुँदैन’ भन्ने हीनताबोधको पर्खाल भत्काउँदै आशाको किरण जगाएको थियो ।

सिंहदरबारको बन्द कोठाभित्र बसेर शक्तिको अभ्यास गर्ने परम्परागत दलका शीर्ष नेताहरूका विरुद्ध उनले जुन टसल गरे, त्यसले नेपाली युवामा वर्षौँदेखि सञ्चित निराशालाई एउटा निकास दियो । बालेन केवल पदको नाम थिएन, उनी त सुशासनको खोजीमा भौँतारिएका लाखौँ युवाका आशा बनिसकेका थिए । उनले बागदरबारबाट सिंहदरबारलाई दिएका कडा जवाफहरू केवल शब्द मात्र थिएनन्, ती परिवर्तनका लागि आतुर एउटा सिङ्गो युवा पुस्ताको गर्जन बनेको थियो ।

आम नागरिकमा चरम निराशा छाइरहेको बेला बालेन एउटा नयाँ तरङ्ग बनेर आए । सुशासनको अभाव र भ्रष्टाचारको दुर्गन्ध व्याप्त थियो । सामाजिक सञ्जाल बन्द विरुद्ध र विधिको शासनका लागि भदौ २३ र २४ गते जेनजी आन्दोलन भयो, त्यसले नेपालको राजनीतिक जग नै हल्लाइदियो । तत्कालीन सरकारको दमनकारी नीति र युवामाथि चलेको गोलीले नेपाली माटोलाई पुनः रक्ताम्य बनायो, तर त्यही रगतले परिवर्तनको नयाँ गाथा लेख्न सुरु गर्‍यो । त्यो आन्दोलनमा बालेनको खुला समर्थनले आगोमा घिउको काम गर्‍यो । सडकमा उत्रिएका ती कलिला हातहरू र सपना देख्ने आँखाहरूका लागि बालेन एउटा भरोसाको केन्द्र बने । देशभरि फैलिएको त्यो विद्रोहको लहरले अन्ततः एमाले–कांग्रेस नेतृत्वको शक्तिशाली सत्तालाई बालुवाको महलझैँ ढलाइदियो र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा एउटा अन्तरिम सरकारको उदय भयो ।

बालेनले काठमाडौँको सुरक्षित मेयर पद त्यागेर देशको नेतृत्व लिने जोखिमपूर्ण निर्णय लिए । जब राष्ट्रिय स्वतन्त्र पार्टीले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्‍यो, तब नेपाली राजनीतिमा एउटा यस्तो भूकम्प गयो, जसको धक्का परम्परागत दलका किल्लाहरूसम्म पुग्यो । उनले केवल चुनाव मात्र लडेका थिएनन्, उनले त वर्षौँदेखि जरा गाडेर बसेका शक्ति केन्द्रहरू विरुद्ध धावा बोलेका थिए ।
सङ्क्रमणकालीन घडीमा नेपाली जनता विशेष गरी नयाँ पुस्ताले एउटै अनुहार खोजिरहेको थियो– बालेन । फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन घोषणा भयो । बालेनले काठमाडौँको सुरक्षित मेयर पद त्यागेर देशको नेतृत्व लिने जोखिमपूर्ण निर्णय लिए । जब राष्ट्रिय स्वतन्त्र पार्टीले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्‍यो, तब नेपाली राजनीतिमा एउटा यस्तो भूकम्प गयो, जसको धक्का परम्परागत दलका किल्लाहरूसम्म पुग्यो । उनले केवल चुनाव मात्र लडेका थिएनन्, उनले त वर्षौँदेखि जरा गाडेर बसेका शक्ति केन्द्रहरू विरुद्ध धावा बोलेका थिए । उनले आफ्नो उम्मेदवारीका लागि त्यस्तो ठाउँ रोजे, जुन नेपाली राजनीतिको ‘अभेद्य किल्ला’ मानिन्थ्यो झापा निर्वाचन क्षेत्र नम्बर ५, जहाँ दशकौँदेखि केपी शर्मा ओलीको एकछत्र राज थियो ।

झापा–५ केवल एउटा निर्वाचन क्षेत्र मात्र थिएन, त्यो त एउटा राजनीतिक विरासत र शक्तिको प्रतीक थियो । २०४८ सालदेखि नै अपवादबाहेक निरन्तर विजयी हुँदै आएका र विपक्षीलाई लज्जास्पद हारको स्वाद चखाउँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि यो क्षेत्र एउटा सुरक्षित कवचजस्तै थियो । तर यसपटक इतिहासले आफ्नो पाना पल्टाउने निर्णय गरिसकेको थियो । बालेनले जब ‘घण्टी’ चिह्न लिएर झापाको माटोमा पाइला टेके, तब त्यहाँ परिवर्तनको लहर चल्यो । धेरैले यसलाई बालेनको ‘राजनीतिक आत्महत्या’ भनेर टिप्पणी गरे, तर ती टिप्पणीकारहरूले युवा पुस्ताको मनमा उम्लिरहेको विद्रोहको लाभालाई ठम्याउन सकेका थिएनन् ।

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भइरहँदा नेपाली राजनीतिमा एउटा महाकाव्यको अन्त्य र नयाँ युगको सूत्रपात भएको छ । झापाको त्यो गढ, जहाँ ओलीले राज्यकोषको अर्बौँ रकम खन्याएर विकासका नाममा आफ्नो वर्चस्व जोगाउने प्रयत्न गरेका थिए । त्यहाँ बालेनले ४९ हजार ६ सय १४ मतको विशाल मतान्तरले विजय हासिल गरे । ६८ हजार ३ सय ४८ मतका साथ बालेन विजयी हुँदा ओली केवल १८ हजार ७ सय ३४ मतमा खुम्चिन पुगे । यो केवल एक व्यक्तिको हार वा जित थिएन, नेपाली राजनीतिमा रहेको सामन्ती सोच, दम्भ र पुरानो पुस्ताको एकाधिकार माथिको निर्मम प्रहार थियो । झापाका युवाहरूले ओलीले दमकमा निर्माण गरेका गगनचुम्बी भ्युटावरभन्दा बालेनको आँखामा झल्केको सुशासनको सपनालाई विश्वास गरे ।

बालेनको यो उदयका पछाडि उनको व्यक्तिगत व्यक्तित्व मात्र थिएन, बरु उनीभित्र लुकेको एउटा कुशल इन्जिनियरका योजना र र्‍यापरको विद्रोहको समीश्रण थियो । ३६ वर्षीय यी युवा जो सिभिल र स्ट्रक्चरल इन्जिनियरिङमा पोख्त थिए । भूकम्पको समयमा उनले देशका ६५ जिल्ला घुमेर नेपाली माटोको समस्यालाई नजिकबाट बुझेका थिए । उनले र्‍यापमार्फत नेपाली जनतालाई अब खोक्रा भाषण र राष्ट्रवादका नारा मात्रले पुग्दैन, उनीहरूलाई त परिणाममुखी काम र जवाफदेही नेतृत्व चाहिएको सन्देश दिँदै आएका थिए । उनको चुनावी सभामा पनि यही झल्किथ्यो । उनले भूगोल र संस्कृति जोडेर छोटो भाषण दिएका थिए ।

बालेनले आफ्नो सामाजिक सञ्जाललाई केवल प्रचारको माध्यम मात्र बनाएनन्, त्यसलाई एउटा यस्तो अस्त्रका रूपमा प्रयोग गरे, जसले परम्परागत सञ्चारमाध्यम र दलीय संयन्त्रहरूलाई नै ओझेलमा पारिदियो । बालेनको यो चुनावी विद्रोहले राष्ट्रिय स्वतन्त्र पार्टीलाई एउटा अभूतपूर्व उचाइमा पुर्‍याएको छ ।

मतपरिणामको रुझान हेर्दा प्रत्यक्षतर्फ १२१ सिट आउने अनुमान गरिएको छ । समानुपातिकमा ५० प्रतिशतभन्दा बढी मत देखिन्छ । यही रफ्तारले रास्वपा अहिले दुई तिहाइ बहुमतको नजिक पुग्छ । नेपाली कांग्रेस र नेकपा एमाले जस्ता पुराना हात्तीहरू अहिले रास्वपाको यो प्रचण्ड लहरका अगाडि मरिचझैँ चाउरिएका छन् । यो पटक नेपाली जनताले कुनै एउटा दललाई यति ठुलो जनमत दिएका छन् कि अब संवैधानिक प्रक्रियाहरू पनि एउटै दलको इच्छाशक्तिमा निर्भर हुने भएका छन् । यो जनमत बालेनप्रतिको भरोसा र पुराना दलप्रतिको चरम घृणाको संयुक्त अभिव्यक्ति हो ।

झापाको चुनावी मैदानमा आफु सुरक्षित हुन ओलीले विकासको बाढी नै ल्याएका थिए । तर उनले यो बिर्सेका थिए कि समय सधैँ एउटै लयमा चल्दैन । जब मानिसमा परिवर्तनको भोक जाग्छ, तब पुराना किल्लाहरू तासको महलझैँ ढल्छन् ।

भदौको त्यो विद्रोहले युवाहरूको मनमा जुन चोट पुर्‍याएको थियो, त्यसको बदला उनीहरूले मतपत्रमार्फत लिए । एमालेको बलियो सङ्गठन र ग्रासरुट नेटवर्कलाई एउटा ३६ वर्षे ठिटोले आफ्नो वैचारिक स्पष्टता र साहसले ध्वस्त पारिदियो । नेपाली राजनीतिको एउटा अध्याय अहिले पूर्णविराममा पुगेको छ । लामो समयदेखि एमालेको बागडोर सम्हालेका र राष्ट्रिय राजनीतिको मियो मानिएका केपी शर्मा ओली अहिले संसद् बाहिर बस्नुपर्ने अवस्थामा पुगेका छन् । बालेनले झापामा मात्र जितेनन्, उनले त समग्र नेपालमा एउटा सन्देश दिए ‘अबको पालो युवाको, अबको बाटो सुशासनको ।