
विराटनगर, फागुन ४ गते।
मोरङको बूढीगंगा गाउँपालिका–३ मा बुधबार दिउँसो भएको भीषण आगलागीले मुसहर बस्ती पूर्णरूपमा ध्वस्त बनेको छ। करिब ४५ मिनेटसम्म फैलिएको आगोले ११ वटा घर जलेर खरानी हुँदा करोडौँको क्षति भएको छ भने दर्जनौँ परिवार विस्थापित भएका छन्।
दिउँसो करिब २ बजेतिर कोशी लोकमार्गअन्तर्गत गोकुवा चोकबाट पूर्वतर्फ रहेको बस्तीमा अचानक आगलागी सुरु भएको प्रहरीले जनाएको छ। स्थानीय सोनी ऋषिदेवको घरबाट सुरु भएको आगो कर्कटपाता र बाँसको टाटीले बनेका घरका कारण तीव्र गतिमा फैलिएको थियो।
इलाका प्रहरी कार्यालय नेमुवा र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोली, विराटनगर महानगरपालिकाको दमकल, सुरक्षाकर्मी तथा स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा ल्याइए पनि त्यसबेलासम्म बस्तीका अधिकांश घर पूर्णरूपमा जलेर नष्ट भइसकेका थिए। घटनामा मानवीय क्षति नभए पनि ठूलो भौतिक क्षति भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुमानअनुसार विद्युत सर्टका कारण आगलागी भएको हुन सक्ने देखिएको छ भने ग्यास सिलिन्डर विस्फोटले आगो अझ फैलिएको स्थानीयको भनाइ छ। आगो नियन्त्रणका क्रममा सुरक्षाकर्मी र स्थानीयले जोखिम मोलेर केही घर भत्काउँदै थप क्षति हुनबाट जोगाएका थिए।
प्रहरीका अनुसार आगलागीबाट करिब १ करोड १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ। सुनील ऋषिदेव, रामदेव ऋषिदेव, राजकुमार ऋषिदेव लगायतका परिवारले लाखौँको धनमाल गुमाएका छन् भने अन्य धेरै परिवारको घर, अन्नपात, लत्ताकपडा र नगदसमेत पूर्ण रूपमा जलेर नष्ट भएको छ।
घटनापछि बस्तीमा रुवाबासी छाएको छ। दैनिक ज्यालादारीमा निर्भर मुसहर समुदायका परिवार एकैछिनमा घरबारविहीन बनेपछि खुला आकाशमुनि बस्न बाध्य भएका छन्। हाल पीडितहरूलाई नजिकैको जनता आधारभूत विद्यालयमा अस्थायी रूपमा राखिएको छ।
स्थानीय जनप्रतिनिधिहरूले तत्काल राहत, अस्थायी आवास र दीर्घकालीन पुनःस्थापनाको आवश्यकता औंल्याएका छन्। उनीहरूले कमजोर संरचना र असुरक्षित बसोबासका कारण यस्तो ठूलो विपद् निम्तिएको बताउँदै राज्यस्तरबाट प्रभावकारी सहयोगको माग गरेका छन्।
प्रहरीले आगलागीको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी राखेको जनाएको छ।




