काठमाडौं । गोकुल बाँस्कोटा ले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादलाई लक्षित गर्दै शेरबहादुर देउवा को ‘मौन राजनीति’ माथि व्यङ्ग्य गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले देउवाको चुपचाप रणनीतिलाई साधारण मौनता नभई ‘सुनियोजित चाल’ को रूपमा व्याख्या गरेका हुन्। कांग्रेसभित्र समितिको वैधानिकता र कानुनी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा देउवाले पुरानो समितिको बैठक बोलाउनु आफैँमा संकेतपूर्ण रहेको उनको भनाइ छ।
बाँस्कोटाले देउवा अदालतको सम्भावित निर्णयप्रति विश्वस्त देखिएको संकेत गर्दै भनेका छन्— “मौन राजनीतिका माहिर खेलाडी मानिने देउवाले पुरानो समितिको बैठक राख्नुले फैसला आफ्नो पक्षमा आउनेमा उहाँ ढुक्क हुनुहुन्छ भन्ने देखिन्छ।”
उनले आफ्नो टिप्पणीलाई अझ व्यङ्ग्यात्मक बनाउन नेपाली उखान प्रयोग गर्दै लेखेका छन्— “खेल खेलाडीका, जित अनाडीका भन्ने उखान जस्तै भयो कि क्या हो ? शंका लाग्यो। लंका हाने कसैले भने— थाहा छैन।”
उनको यस अभिव्यक्तिले कांग्रेसभित्र चलिरहेको शक्ति संघर्ष र कानुनी लडाइँमा देउवाको रणनीति प्रति राजनीतिक वृत्तमा नयाँ बहस थपिएको छ।




