विराटनगर । निर्माण व्यवसायी महासंघ, कोशी प्रदेश ले इन्धन तथा निर्माण सामग्रीमा भइरहेको निरन्तर मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै सरकारसँग तत्काल हस्तक्षेप गर्न माग गरेको छ।
महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा डिजेल, पेट्रोल लगायत इन्धन सामग्रीको बारम्बार भइरहेको मूल्यवृद्धिले निर्माण कार्य ठप्प हुने अवस्थामा पुगेको जनाएको छ। साथै बिटुमिन, सिमेन्ट, स्टील लगायतका अत्यावश्यक निर्माण सामग्रीमा समेत अस्वाभाविक मूल्यवृद्धि हुँदा समग्र निर्माण उद्योग नै धराशायी हुने जोखिम बढेको उल्लेख गरिएको छ।
महासंघका महासचिव रमेश कार्की द्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले समस्या समाधानका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै ठोस कदम नचालेको गुनासो गरिएको छ। करिब दुई महिनादेखि सरकारबाट मौखिक आश्वासन मात्र प्राप्त भएको र व्यवहारमा कुनै सुधार नदेखिएको महासंघको भनाइ छ।
विज्ञप्तिमा नेपाल राष्ट्र बैंकको मूल्य सूचकांक (इन्डेक्स) अनुसार ठेक्काको मूल्य समायोजन हुने व्यवस्था भए पनि वास्तविक बजार मूल्य वृद्धि सो सूचकांकमा प्रतिबिम्बित नहुँदा निर्माण व्यवसायीहरू थप मारमा परेको जनाइएको छ।
इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धि तथा अभावका कारण राष्ट्रिय गौरवका आयोजनादेखि साना–ठूला सबै परियोजनाहरू प्रभावित भई अधिकांश काम ठप्प भएको महासंघले जनाएको छ। यस्तो अवस्थाले निर्माणाधीन आयोजनाको भविष्यसमेत अन्योलमा परेको उल्लेख छ।
महासंघले प्रत्येक आयोजनामा मूल्यवृद्धि अनुसार मूल्य समायोजनको स्पष्ट कार्यविधि तत्काल जारी गर्न, सबै ठेक्कामा मूल्य समायोजनको व्यवस्था गर्न र प्रभावित निर्माण व्यवसायीलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
साथै, वर्तमान परिस्थितिका कारण निर्धारित समयमा आयोजना सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएकाले बैंक ग्यारेन्टी, इन्सुरेन्स तथा जरिवाना लगायतका व्यवस्थामा सहजीकरण गर्दै सबै आयोजनाको म्याद थप गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ




