सत्य नारायण शर्मा
विराटनगर । नेपाल सरकारद्वारा लागू गरिएको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली, २०७५ (संशोधन सहित) अनुसार पेट्रोल पम्प सञ्चालनका लागि स्पष्ट मापदण्ड तोकिए पनि विराटनगरका अधिकांश पेट्रोल पम्पहरू ती मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएको छ ।
सरकारी मापदण्डअनुसार पेट्रोल पम्प सञ्चालन गर्न पर्याप्त जग्गा, आवश्यक दूरी, पूर्वाधार तथा कडा सुरक्षा व्यवस्था अनिवार्य हुन्छ । त्यस्तै, शौचालय, सफा परिसर, आगलागी नियन्त्रणका उपकरण र सुरक्षित संरचना जस्ता आधारभूत सुविधा समेत हुनुपर्ने प्रावधान छ । तर, विराटनगरमा सञ्चालनमा रहेका करिब ५० प्रतिशतभन्दा बढी पेट्रोल पम्पहरूले यी आधारभूत मापदण्डसमेत पूरा नगरेको पाइएको छ । अधिकांश पेट्रोल पम्पमा शौचालयको व्यवस्था छैन भने हरियालीका लागि बोटबिरुवा तथा फूलबारीसमेत देखिँदैन ।
आगलागी नियन्त्रणका लागि आवश्यक फाइरीङ सिलीन्ड ,बालुवा, पानी, बाल्टिन, बेल्चा जस्ता सामग्रीको अभाव रहेको छ । त्यस्तै, कम्तीमा १००० लिटर क्षमताको पानी ट्याङ्की राख्नुपर्ने प्रावधान भए पनि धेरैजसो पम्पमा पानी ट्याङ्की तथा खानेपानीको धारा (ट्युबवेल) समेत छैन । सुरक्षा पर्खाल र फेन्सिङजस्ता आधारभूत संरचना पनि नदेखिएको गुनासो छ । सुरक्षा संवेदनशील मानिने पेट्रोल पम्पहरूमा नै यस्ता लापरवाही देखिनुले ठूलो दुर्घटनाको जोखिम बढाएको सरोकारवालाहरूले बताएका छन् । यस विषयमा सम्बन्धित निकायले नियमित अनुगमन र कडाइ नगर्दा व्यवसायीहरू मापदण्ड बेवास्ता गर्दै सञ्चालन गरिरहेका छन् । सरोकारवालाहरूले तत्काल अनुगमन तीव्र पारेर मापदण्ड पालना गराउन माग गरेका छन् ।




