पाँचथर जिल्ला — यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) 2082 को नतिजाले जिल्लाको शैक्षिक अवस्था गम्भीर रूपमा उजागर गरेको छ। केही विद्यालयले उत्कृष्ट सफलता हात पारे पनि ६ वटा विद्यालयमा एक जना पनि विद्यार्थी उत्तीर्ण हुन नसक्दा सरकारी विद्यालयको गुणस्तरमाथि प्रश्न उठेको छ।
जिल्लाका पाँच सामुदायिक र एक निजी विद्यालयका सबै परीक्षार्थी अनुत्तीर्ण भएका हुन्। कालिका माध्यमिक विद्यालय साम्दिन मा सहभागी ८ जना विद्यार्थीमध्ये कोही पनि ग्रेडेड हुन सकेनन्। यो विद्यालयले गत वर्ष पनि शतप्रतिशत असफल नतिजा व्यहोरेको थियो।
यस्तै, सारताप मनरत्न माध्यमिक विद्यालय का २६ जना, खान्द्रोङ मावि का ६ जना, चन्द्रोदय मावि का १० जना, माउण्ट कञ्चन बोर्डिङ स्कुल का १० जना तथा सरस्वती मावि ताङलेपा का ४ जना विद्यार्थी सबै अनुत्तीर्ण भएका छन्।
समग्रमा भने पाँचथरबाट नियमिततर्फ २,०९९ विद्यार्थी एसईईमा सहभागी भएकामध्ये १,०३४ जना मात्र ग्रेडेड भएका छन्। अर्थात् जिल्लाको उत्तीर्ण दर करिब ४९ प्रतिशतमा सीमित भएको छ। प्राविधिक धारतर्फ १२२ मध्ये ६२ जना विद्यार्थी ग्रेडेड भएका छन् भने जिल्लाबाट दुई जनाले ४ जीपीए ल्याएका छन्।
स्थानीय तहगत रूपमा तुम्बेवा गाउँपालिका सबैभन्दा उत्कृष्ट देखिएको छ। त्यहाँ ६२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। इन्द्रावती मावि ले २८ मध्ये २६ जना विद्यार्थी उत्तीर्ण गराउँदै उल्लेखनीय नतिजा निकालेको छ।
विपरीत रूपमा याङवरक गाउँपालिका जिल्लाकै कमजोर स्थानीय तह बनेको छ। त्यहाँ २४३ परीक्षार्थीमध्ये ६५ जना मात्र ग्रेडेड भएका छन्, जुन जम्मा २६ प्रतिशत हो।
एसईई नतिजाले पाँचथरमा विद्यालयबीच ठूलो शैक्षिक असमानता देखाएको छ। केही विद्यालयमा शतप्रतिशत सफलता देखिँदा केही विद्यालयमा लगातार शून्य नतिजा आउनु शिक्षा प्रणाली सुधारको चुनौती बनेको स्थानीय सरोकारवालाको भनाइ छ।




