विराटनगर मा निर्माण सामग्री र इन्धनको बढ्दो मूल्यका कारण निर्माण व्यवसायीहरूले विरोध जनाउँदै जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि धर्ना दिएका छन्। उनीहरूले सरकारलाई तत्काल मूल्य समायोजनको नीति लागू गर्न माग गरेका छन्।
निर्माण व्यवसायी संघ मोरङ का पदाधिकारी तथा सदस्यहरू बिहीबार ब्यानरसहित प्रशासन कार्यालय पुगेका थिए। उनीहरूले आधा घण्टा धर्ना दिँदै निर्माण उद्योग गम्भीर आर्थिक संकटमा परेको बताएका छन्। धर्नापूर्व संघको टोलीले युवराज कटेल लाई ज्ञापनपत्र बुझाएको थियो।
व्यवसायीहरूको भनाइमा पछिल्लो समय डिजेल, बिटुमिन, ढुवानी तथा श्रमिक खर्च अत्यधिक बढेकाले पुरानो ठेक्का दरमा काम गर्न असम्भव भएको छ। नेपाल निर्माण व्यवसायी महासंघ कोशी प्रदेश का वरिष्ठ उपाध्यक्ष केशरकुमार बुढाथोकी ले इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण व्यवसायीले अर्बौं रुपैयाँ घाटा व्यहोर्नुपरेको बताएका छन्।
व्यवसायीहरूले निर्माण क्षेत्रले लाखौंलाई रोजगारी दिएको र राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्याए पनि सरकारबाट समस्या समाधानमा चासो नदेखिएको गुनासो गरेका छन्। उनीहरूले सबै सरकारी ठेक्कामा मूल्य समायोजन, आयोजनाको म्याद थप, बैंक ग्यारेन्टी अवधि विस्तार र दण्डात्मक कारबाही रोक्न माग गरेका छन्।
संघका अध्यक्ष महेशकुमार मिश्र ले माग सम्बोधन नभए देशभरका निर्माण कार्य ठप्प हुने चेतावनी दिएका छन्। प्रशासनले भने व्यवसायीको समस्या सम्बन्धित निकायसम्म पुर्याएर समाधानका लागि पहल गर्ने आश्वासन दिएको छ।




