विराटनगर ।
मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसन को सहकार्यमा सञ्चालन भइरहेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ अन्तर्गत झापा, मोरङ र सुनसरी जिल्लाका ४८ जना सडकआश्रित तथा सहयोगको आवश्यकता भएका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।
वर्षायाम नजिकिँदै जाँदा खुला आकाशमुनि, सडकपेटी, मन्दिर परिसर तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताइरहेका व्यक्तिहरूलाई लक्षित गर्दै उद्धार अभियान तीव्र पारिएको हो। आश्रमका अध्यक्ष रामजी अधिकारी का अनुसार उद्धार गरिएकामध्ये ३६ पुरुष र १२ महिला रहेका छन्।
जिल्लागत रूपमा हेर्दा झापाबाट ९ जना, मोरङबाट ७ जना र सुनसरीबाट सबैभन्दा धेरै ३२ जनाको उद्धार गरिएको छ। उद्धारपछि उनीहरूलाई आश्रमका विभिन्न शाखामा संरक्षणका लागि राखिएको छ। १५ जनालाई झापा शाखा, १२ जनालाई विराटनगर शाखा र २१ जनालाई धरान शाखामा स्थानान्तरण गरिएको जनाइएको छ।
अभियानका क्रममा उद्धार गरिएका नागरिकलाई सुरक्षित बसोबाससँगै भोजन, स्वास्थ्योपचार र आवश्यक मनोसामाजिक सहयोग उपलब्ध गराइँदै आएको छ। आश्रमले परिवारसँग सम्पर्क हुन सक्ने अवस्थाका व्यक्तिहरूलाई पुनर्मिलन गराउने प्रयाससमेत अघि बढाएको जनाएको छ।
वैशाख २९ गते मेची पुल बाट सुरु भएको यात्रा कोशी प्रदेशका तीन जिल्लाको कार्यक्रम सम्पन्न गरी अब मधेश प्रदेशतर्फ केन्द्रित हुने भएको छ। आगामी जेठ २२ गतेसम्म सञ्चालन हुने अभियानमा चर्चित गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा सहित २४ सदस्यीय स्वयंसेवक टोली सक्रिय छ।
देशभर सडकआश्रित नागरिकलाई संरक्षणमा ल्याउने लक्ष्यसहित मानव सेवा आश्रम ले हाल सातै प्रदेशका १९ जिल्लामा २३ शाखामार्फत सेवा सञ्चालन गरिरहेको जनाएको छ।




