झुटो विवरणका आधारमा नागरिकता सिफारिस गरेको आरोपमा रंगेलीका वडा अध्यक्षसहित २ जना पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिकामा झुटो विवरणका आधारमा नागरिकता सिफारिस गरिएको आरोपमा वडा अध्यक्ष र वडा सदस्य पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली नगरपालिका–५ निवासी मनुवा कुमार महतोले आफ्नी आमा अधनलुनया महतो भएको भन्दै झुटो विवरण पेश गरी अंगीकृत नेपाली नागरिकता लिन सिफारिस प्रक्रिया अघि बढाएको आरोप छ। सोही विवरणका आधारमा सर्जमिनसहित नागरिकता सिफारिस गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

यस घटनामा संलग्न रहेको आरोपमा रंगेली नगरपालिका–५ का वडा अध्यक्ष ५५ वर्षीय महानन्द मण्डल र सोही वडाका वडा सदस्य ४६ वर्षीय गणेश ररिदेवलाई पक्राउ गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले आवश्यक कारबाहीका लागि सम्बन्धित विवरण जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएको जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।