जेनजी आन्दोलनको आवरणमा विराटनगरमा आगजनी गराउने मुख्य अभियुक्त ताजिम अन्सारी कारागार चलान

विराटनगर । जेनजी आन्दोलनको आवरणमा २०८२ साल भदौ २४ गते विराटनगरमा भएको आगजनी तथा तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारी कारागार चलान भएका छन्। जिल्ला अदालत मोरङले शुक्रबार अन्सारीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएसँगै उनलाई जिल्ला कारागार मोरङ पठाइएको हो।

जिल्ला अदालत मोरङका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले अन्सारीको बयान र थुनछेक बहसपछि यस्तो आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। लामो समयदेखि फरार रहेका अन्सारी शुक्रबार आफैं अदालतमा उपस्थित भएका थिए।

जिल्ला सरकारी वकिल कार्यालय मोरङले अन्सारीविरुद्ध आपराधिक उपद्रव सम्बन्धी दुई छुट्टाछुट्टै मुद्दा दर्ता गरेको थियो। एउटा मुद्दा नापी कार्यालयमा भएको आगजनी तथा तोडफोडसँग सम्बन्धित रहेको र सोही मुद्दामा उनलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश भएको अदालतले जनाएको छ। अर्को मुद्दा जिल्ला सरकारी वकिल कार्यालयमा भएको तोडफोडसँग सम्बन्धित रहेको तथा त्यसमा अदालतले ३ लाख रुपैयाँ धरौटी माग गरेको छ। उक्त रकम हालसम्म बुझाइएको छैन।

जेनजी आन्दोलनको दोस्रो दिन विराटनगरका विभिन्न सरकारी कार्यालय, सार्वजनिक संरचना तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट भएको थियो। प्रहरी अनुसन्धानअनुसार केही घटनाको नेतृत्व अन्सारीले गरेका थिए।

यसअघि प्रहरीले अन्सारीसहित ६ जनालाई पक्राउ गरेको भए पनि उनीहरू हाजिरजमानीमा छुटेका थिए। पछि अदालतमा उपस्थित नभएपछि सरकारी पक्षले फरार प्रतिवादीका रूपमा मुद्दा अघि बढाएको थियो। शुक्रबार अदालतमा उपस्थित भएका अन्सारीलाई अन्ततः कारागार चलान गरिएको हो। अन्य अभियुक्तविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ।