मुहर्रम पर्वका क्रममा विराटनगरमा नक्कली हतियार नियन्त्रणमा

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१३ सोमबारे क्षेत्रमा मुहर्रम पर्व मनाउने क्रममा प्रहरीले नक्कली हतियार नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार साँझ करिब ६ः४५ बजे मुस्लिम समुदायले मुहर्रम पर्व मनाइरहेका बेला केही व्यक्तिसँग नक्कली हतियार बोकेको सूचना प्राप्त भएपछि प्रहरी परिचालन गरिएको थियो।

प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठको कमाण्डमा खटिएको टोलीले घटनास्थल पुगेर नक्कली हतियार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएको सामग्री जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

प्रहरीले पर्व तथा सार्वजनिक कार्यक्रममा कानुन विपरीत वा सर्वसाधारणमा त्रास उत्पन्न हुने किसिमका सामग्री प्रयोग नगर्न आग्रह गरेको छ।