खैरो हेरोइन कारोबारमा संलग्न दुई जना पक्राउ, साढे चार लाखभन्दा बढी नगद बरामद

विराटनगर । मोरङ प्रहरीले लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ, नगद र मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असार १४ गते बिहान करिब १०ः४० बजे विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाट क्षेत्रमा चेकजाँचका क्रममा भारतको पश्चिम बंगाल राज्य, दक्षिण दिनाजपुर जिल्ला, गंगारामपुर थाना क्षेत्रका ३२ वर्षीय चंचल सिकदारलाई नियन्त्रणमा लिइएको हो। उनको साथबाट २८९ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा बरामद लागू औषध रिसिभ गर्न काठमाडौं हुँदै सुनसरी पुगेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय सुनसरीसँग समन्वय गरी थप अपरेशन सञ्चालन गरेको थियो।

सो क्रममा सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रबाट जुम्लाको चन्दननाथ नगरपालिका–८ का २५ वर्षीय तेज रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट बागमती प्रदेश नम्बरको मोटरसाइकल र नेपाली नगद ४ लाख ७१ हजार रुपैयाँ समेत बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखी लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिएका छन्।