भारतीय सवारी चालकबाट अवैध रकम असुलेको आरोपमा तीन जना पक्राउ

विराटनगर । नेपाल–भारत सीमा नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका सवारी साधनका चालकहरूसँग अवैध रूपमा रकम असुलेको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असार १४ गते दिउँसो करिब २ः३० बजे विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाट नजिक रहेको यात्रु सहायता शाखामा भारतीय सवारी चालकहरूलाई दबाब र प्रभावमा पारी अनधिकृत रूपमा रकम असुल गरी आर्थिक लाभ लिइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त टोलीले उक्त गतिविधिमा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–१३ का ६३ वर्षीय सुरेश कर्ण, विराटनगर–१५ का ६७ वर्षीय नरेन्द्र थापा र विराटनगर–१ का ४४ वर्षीय सञ्जय केवट रहेका छन्।

उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिएका छन्।

सीमा क्षेत्रमा आवतजावत गर्ने भारतीय सवारी साधनका चालकहरूसँग गैरकानुनी रूपमा रकम असुल्ने गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ।