विराटनगर । पर्यटकको सुरक्षा, सहजीकरण र पर्यटनमैत्री सेवा प्रवाहलाई लक्षित गर्दै कोशी प्रदेश प्रहरी कार्यालयको आयोजनामा सञ्चालन गरिएको सात कार्यदिनको “पर्यटक प्रहरी अनुशिक्षण” तालिमको दोस्रो समूह सम्पन्न भएको छ।
असार १५ गते आयोजित समापन कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्पदाको अवलोकन र भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षामा पर्यटक प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
उनले पर्यटकलाई सुरक्षित, सहज र सकारात्मक अनुभव प्रदान गर्न प्रहरीको व्यवहार, समन्वय र सेवा प्रभावकारी हुनुपर्नेमा जोड दिँदै पर्यटक सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएका थिए। साथै तालिममा सहभागी प्रशिक्षार्थीहरूले उठाएका जिज्ञासाबारे समेत स्पष्ट पारिएको थियो।
कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक बिगम खड्काले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनअनुसार तालिममा कोशी प्रदेश अन्तर्गतका विभिन्न प्रहरी कार्यालयमा कार्यरत जुनियर प्रहरी अधिकृत तथा प्रहरी जवान गरी ३० जना प्रहरी कर्मचारीको सहभागिता रहेको थियो।
समापन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, नारायण प्रसाद चिमरिया, वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।
प्रदेशका पर्यटकीय गन्तव्यमा पर्यटकको सुरक्षा र सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो प्रकारको अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको प्रहरी कार्यालयले जनाएको छ।




