मुहर्रममा नक्कली हतियार बोकेर आतंक फैलाएको आरोपमा एक पक्राउ

विराटनगर । मोरङ प्रहरीले मुहर्रम पर्व मनाउने क्रममा नक्कली हतियार बोकेर सर्वसाधारणलाई त्रसित बनाएको आरोपमा एक जनालाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असार १२ गते मुस्लिम समुदायले मुहर्रम पर्व मनाइरहेका बेला एक व्यक्तिले नक्कली हतियार बोकी सार्वजनिक रूपमा हिँडेको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको थियो। उक्त घटनापछि प्रहरीले खोजतलास तथा अनुसन्धान अघि बढाएको थियो।

सोही क्रममा असार १५ गते राति करिब ९ः४० बजे विराटनगर महानगरपालिका–९ निवासी २३ वर्षीय मोहम्मद ईजराईललाई उनको घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले उनीसँग रहेको नक्कली हतियारसमेत बरामद गरेको बताएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले सार्वजनिक कार्यक्रम तथा धार्मिक पर्वका क्रममा कुनै पनि गतिविधिले समाजमा भय, त्रास वा असहजता सिर्जना गर्न नहुने भन्दै कानुनी दायराभित्र रहेर पर्व मनाउन आग्रह गरेका छन्।