
– सत्यनारायण शर्मा
स्वास्थ्य मानिसको आधारभूत अधिकार हो। उमेर बढ्दै जाँदा शरीरमा विभिन्न प्रकारका दीर्घरोग, कमजोरी तथा शारीरिक जटिलता देखिनु स्वाभाविक हो। त्यसैले ज्येष्ठ नागरिकका लागि सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा तथा स्वास्थ्य बिमाको पहुँच अझ महत्वपूर्ण मानिन्छ। नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिरहेको भए पनि यसको प्रभावकारी कार्यान्वयन स्थानीय तहको सक्रियतामा निर्भर रहन्छ। मोरङको धनपालथान गाउँपालिकाले स्वास्थ्य सेवा विस्तार, निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य बिमा, पोषण, मातृ तथा शिशु स्वास्थ्य, नसर्ने रोगको नियन्त्रण तथा ज्येष्ठ नागरिकमैत्री कार्यक्रममार्फत यस क्षेत्रमा उल्लेखनीय प्रयास गरेको देखिन्छ।
धनपालथान गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख ऋषी साहका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकाभित्र १,१५८ जना महिला र १,३५८ जना पुरुष गरी कुल २,५१६ जनाको स्वास्थ्य बिमा गरिएको छ। स्वास्थ्य शाखासँग बिमा गरेका व्यक्तिमध्ये कति जना ज्येष्ठ नागरिक हुन् भन्ने छुट्टै तथ्यांक नभए पनि बिमा कार्यक्रममा ज्येष्ठ नागरिकको राम्रो सहभागिता रहेको उनले बताए।
उनका अनुसार गाउँपालिकामा अझै पनि केही चुनौती बाँकी छन्। विशेषगरी ग्रामीण क्षेत्रमा स्वास्थ्यसम्बन्धी शिक्षा र जनचेतनाको कमीका कारण धेरै ज्येष्ठ नागरिक समयमै स्वास्थ्य संस्थामा पुग्दैनन्। कतिपयले स्वास्थ्य बिमा गर्न वा नवीकरण गर्न पनि रुचि देखाउँदैनन्। रोग जटिल भएपछि मात्रै अस्पताल जाने प्रवृत्तिका कारण उपचारमा कठिनाइ थपिने गरेको साहको भनाइ छ।
दुई हजारभन्दा बढी ज्येष्ठ नागरिकले लिए स्वास्थ्य सेवा
आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकाका स्वास्थ्य संस्थाबाट कुल २,५१६ जना ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। तीमध्ये १,१५८ जना महिला र १,३५८ जना पुरुष रहेका छन्। गाउँपालिकामा रहेका सात वटा स्वास्थ्य चौकीमार्फत नियमित स्वास्थ्य सेवा प्रदान गरिएको छ।
यी स्वास्थ्य संस्थामा ४५ जना स्वास्थ्यकर्मी, ४५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा ७ जना स्वास्थ्य बिमा दर्ता सहयोगी कार्यरत छन्। यही जनशक्तिका कारण गाउँस्तरसम्म स्वास्थ्य सेवा विस्तार गर्न सहज भएको स्वास्थ्य शाखाकभनाइ छ।
निःशुल्क स्वास्थ्य शिविरबाट ग्रामीण नागरिक लाभान्वित
स्वास्थ्य सेवा सबै नागरिकसम्म पुर्याउने उद्देश्यले गाउँपालिकाले वर्षभर विभिन्न स्थानमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। यी शिविरबाट ज्येष्ठ नागरिकसहित २९३ जनाले सेवा प्राप्त गरेका छन्। यसका लागि गाउँपालिकाले करिब ३ लाख रुपैयाँ खर्च गरेको थियो।
त्यसैगरी नसर्ने रोग नियन्त्रण अभियान अन्तर्गत २,८११ जनाले निःशुल्क रक्तचाप, मधुमेह तथा मिर्गौलासम्बन्धी परीक्षण गराएका छन्। यस अभियानका लागि गाउँपालिकाले ५ लाख रुपैयाँ खर्च गरेको स्वास्थ्य शाखाले जनाएको छ।
मातृ तथा शिशु स्वास्थ्यलाई प्राथमिकता
धनपालथान गाउँपालिकाले ज्येष्ठ नागरिकसँगै मातृ तथा शिशु स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको छ। गर्भवती महिलालाई सुरक्षित सुत्केरी गराउन गाउँपालिकाबाट विराटनगर र रंगेलीसम्म निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ।
“स्वस्थ आमा, स्वस्थ बच्चा” अभियान अन्तर्गत गर्भधारण भएको १३ हप्तादेखि सुत्केरी भएको ६ हप्तासम्म सबै गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क क्याल्सियम चक्की वितरण गरिँदै आएको छ।
त्यसैगरी गाउँपालिका उपाध्यक्ष कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका बर्थिङ सेन्टरमा छोरी जन्मिएमा ५ हजार रुपैयाँ र छोरा जन्मिएमा १ हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइँदै आएको छ।
गाउँघरमै स्वास्थ्य सेवा
स्वास्थ्य संस्थाको पहुँच नपुगेका बस्तीमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्न गाउँपालिकाले गाउँघर क्लिनिक र खोप क्लिनिक भवन निर्माण गर्दै आएको छ। समुदायस्तरमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकालाई थप सक्रिय बनाइएको छ।
गाउँपालिकाले ४५ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक १ हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराउँदै आएको छ। यसले उनीहरूको सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको छ।
निःशुल्क औषधि र पोषण कार्यक्रम
नेपाल सरकारले सूचीकृत गरेका अत्यावश्यक औषधिहरू गाउँपालिकाका स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरबाट निःशुल्क उपलब्ध गराइँदै आएको छ। मातृ तथा बाल स्वास्थ्य सुधारका लागि पोषण कार्यक्रम निरन्तर सञ्चालनमा छ।
गर्भवती तथा सुत्केरी महिलालाई आवश्यक फोलिक एसिड र क्याल्सियम चक्की निःशुल्क वितरण गरिँदै आएको छ भने पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्था मूल्यांकन गरी कुपोषित बालबालिकालाई उपचारका लागि ओटीसी केन्द्रमार्फत सेवा प्रदान गरिएको छ।
आयुर्वेद र नसर्ने रोग नियन्त्रण
बढ्दो नसर्ने रोगलाई नियन्त्रण गर्न गाउँपालिकाले नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेद) स्थापना गरी सेवा सञ्चालन गरेको छ। साथै स्वास्थ्य संस्थामा सुगर र प्रेसर परीक्षण निःशुल्क गर्ने व्यवस्था गरिएको छ।
समुदायस्तरमै महिला स्वास्थ्य स्वयंसेविकामार्फत रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ। यसले विशेषगरी ज्येष्ठ नागरिकलाई घर नजिकै स्वास्थ्य परीक्षणको सुविधा दिएको छ।
निर्माणाधीन आधारभूत अस्पताल
गाउँपालिकाले स्वास्थ्य पूर्वाधारलाई पनि प्राथमिकतामा राखेको छ। निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ। यस अस्पताल सञ्चालनमा आएपछि सामान्यदेखि मध्यम प्रकृतिका धेरै उपचार स्थानीय स्तरमै सम्भव हुने अपेक्षा गरिएको छ।
निःशुल्क रगत सेवा
रगत आवश्यक पर्ने बिरामीलाई सहयोग पुर्याउन गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी विराटनगरको ब्लड बैंकसँग सहकार्य गरी निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ। यसबाट आर्थिक रूपमा कमजोर परिवारका बिरामीलाई ठूलो राहत पुगेको छ।
स्वास्थ्यसँगै सामाजिक सुरक्षामा पनि जोड
गाउँपालिकाले सामाजिक समावेशीकरण र सामाजिक सुरक्षालाई पनि स्वास्थ्यसँग जोडेको छ। ज्येष्ठ नागरिक सम्मान, ज्येष्ठ नागरिक केन्द्र स्थापना, अपाङ्गता भएका व्यक्तिका लागि सेवा, कानुनी सहायता, सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत वितरण, लैङ्गिक हिंसापीडितका लागि सहायता कोष स्थापना, अपाङ्गमैत्री स्थानीय तह निर्माण लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएका छन्।
वडास्तरमा पनि सक्रियता
वडा नं. ७ का अध्यक्ष सन्तोष यादवका अनुसार गाउँपालिकाले ज्येष्ठ नागरिक मात्र नभई सबै उमेर समूहलाई लक्षित गरी स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ। “हामीले स्वास्थ्य शिविर, स्वास्थ्य बिमा, आर्थिक सहयोग, अस्पतालमा सिफारिस लगायतका सेवा नियमित रूपमा दिइरहेका छौँ,” उनले भने।
वडा नं. ६ का अध्यक्ष रोजीत मियाँले ज्येष्ठ नागरिक लक्षित आँखा शिविर तथा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिए। सुरुमा न्यानो कपडा, कम्बल, छाता, गम्छा, धोतीजस्ता सामग्री वितरण गर्ने योजना भए पनि संघीय सरकारको वितरणमुखी कार्यक्रम नियन्त्रण गर्ने नीतिपछि ती कार्यक्रम रोकिएको उनले बताए।
उनका अनुसार वडा नं. ४ र ६ ले संयुक्त रूपमा १४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण, बर्थिङ सेन्टरलाई आवश्यक उपकरण उपलब्ध गराउने, स्वास्थ्य चौकीमा प्रतीक्षालय तथा अपाङ्गमैत्री शौचालय निर्माण गर्ने र अपूरो भवन सम्पन्न गर्ने कार्य गरेका छन्। वडा नं. ६ ले मात्र स्वास्थ्य क्षेत्रमा १५ लाख रुपैयाँ खर्च गरेको उनले जानकारी दिए।
वडा नं. १ का अध्यक्ष खाजा हुसेन मियाँका अनुसार वडामा आँखा शिविर, पाठेघरसम्बन्धी निःशुल्क शिविर, मुटुरोगीका लागि पोषण कार्यक्रम, भिटामिनयुक्त खाद्यान्न, फलफूल र अण्डा वितरण गरिएको छ। डेंगी, मलेरिया र कालाजारबाट बचाउन निःशुल्क झुल वितरण गरिएको छ।
उनका अनुसार स्वास्थ्य बिमाप्रति अहिले नागरिकको आकर्षण बढेको छ। “पहिले बिमा गर्न धेरैले मान्दैनथे। अहिले उपचार खर्चमा राहत पाइने भएपछि सबैमा चेतना आएको छ,” उनले भने।
अझै बाँकी चुनौती
धनपालथान गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि केही चुनौती अझै कायम छन्। स्वास्थ्य बिमा नवीकरणमा नियमितता कायम गर्नु, दुर्गम बस्तीका ज्येष्ठ नागरिकलाई स्वास्थ्य संस्थासम्म पुर्याउनु, दीर्घरोगको नियमित अनुगमन, घरदैलो स्वास्थ्य सेवा विस्तार तथा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि आवश्यक देखिन्छ।
विशेषगरी उमेरका कारण स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य परीक्षण, मोबाइल स्वास्थ्य सेवा तथा नियमित परामर्श कार्यक्रम सञ्चालन गर्न सके सेवा अझ प्रभावकारी बन्न सक्छ।
निष्कर्ष
धनपालथान गाउँपालिकाले स्वास्थ्य बिमा, निःशुल्क स्वास्थ्य सेवा, विशेषज्ञ स्वास्थ्य शिविर, नसर्ने रोग नियन्त्रण, मातृ तथा शिशु स्वास्थ्य, पोषण, आयुर्वेद सेवा, निर्माणाधीन अस्पताल तथा सामाजिक सुरक्षामार्फत नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम चालेको छ। ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने प्रयासले उनीहरूको जीवनस्तर सुधार गर्न सहयोग पुगेको देखिन्छ।
अब आवश्यक कुरा भनेको यी कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै गाउँका प्रत्येक ज्येष्ठ नागरिकलाई समयमै स्वास्थ्य सेवा, नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्य बिमा र सम्मानजनक सामाजिक सुरक्षा सुनिश्चित गर्नु हो। स्थानीय सरकार, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र समुदायबीचको सहकार्य अझ सुदृढ भए धनपालथान गाउँपालिका ज्येष्ठ नागरिकमैत्री स्थानीय तहका रूपमा अझ उदाहरणीय बन्न सक्ने देखिन्छ।




