लागू औषधसहित १३ जना पक्राउ, २५७ ग्राम ब्राउन सुगर र ३७ किलो गाँजा बरामद

विराटनगर । कोशी प्रदेश प्रहरीले सञ्चालन गरेको लागू औषधविरुद्धको महाअभियानअन्तर्गत विभिन्न जिल्लाबाट १३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट २५७ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर, ३७ किलोग्राम गाँजा, ४६० वटा लागू औषध ट्याब्लेट, २० क्याप्सुल तथा एक थान मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिका–६ मा लागू औषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी गछियाबाट खटिएको टोलीले स्थानीय २१ वर्षीय सुमन लिम्बु र २३ वर्षीय युराज मगरलाई ३६ ग्राम ११ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

यस्तै इलाका प्रहरी कार्यालय बेलबारीले सुन्दरहरैँचा–१० बाट भानुभक्त लिम्बु, बिप्लव परियार, सुन्दरहरैँचा–८ का किरण राई र बेलबारी–२ का सुशील राईलाई ट्रामाडोलसहित ४६० वटा ट्याब्लेट बरामद गर्दै नियन्त्रणमा लिएको छ।

झापामा पनि लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र प्रहरी चौकी टाघनडुब्बाको संयुक्त टोलीले झापा गाउँपालिका–४ बाट दमक–८ का चन्द्रबहादुर तामाङ र भारतको किशनगञ्ज निवासी अब्दुल रहमानलाई २५ ग्राम १९ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

त्यसैगरी प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले कमल गाउँपालिका–४ मा चेकजाँचका क्रममा गौरादह नगरपालिका–१ का विक्रम बस्नेतलाई ट्रामाडोलका २० क्याप्सुलसहित पक्राउ गरेको छ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा इलाका प्रहरी कार्यालय भेडेटारले सवारी चेकजाँचका क्रममा प्र.१–०२–००१ च ४५३१ नम्बरको पिकअप गाडीबाट ३७ किलोग्राम गाँजा बरामद गरेको छ। जेब्रा झोला र बोराभित्र लुकाएर राखिएको गाँजा बरामद भएपछि ओसारपसारमा संलग्न साँगुरीगढी गाउँपालिका–९ का लोकबहादुर राई र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ की बिनिता कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कोशी प्रदेश प्रहरीले लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ महाअभियान सञ्चालन गर्दै आएको जनाएको छ। अभियानअन्तर्गत लागू औषध कारोबार तथा सेवनमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउनुका साथै मनोपरामर्श र जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैमाथि सम्बन्धित प्रहरी कार्यालयबाट लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ