सत्यनारायण शर्मा
विराटनगर । आर्थिक वर्ष २०८२/८३ मा भारतको जोगबनी हुँदै विराटनगर भन्सार नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय पर्यटकको संख्या ८० हजार ७११ पुगेको छ।
उपलब्ध तथ्यांकअनुसार १२ महिनामा १७ हजार ४९४ वटा सवारीसाधन (बस, कार/जिप तथा अन्य) मा आएका भारतीय पर्यटकले नेपाल प्रवेश गरेका हुन्। पर्यटक सवारीमा टाँसिने स्टिकरमार्फत ९४ लाख १५ हजार २०० रुपैयाँ राजस्व संकलन भएको छ।
तथ्यांकअनुसार सबैभन्दा बढी पर्यटक जेठ महिनामा १३ हजार ३४६ जना नेपाल आएका छन्। उक्त महिनामा १,५४० वटा सवारीसाधन प्रवेश गरेका थिए भने १३ लाख १ हजार ४०० रुपैयाँ राजस्व संकलन भएको छ।
त्यसैगरी, वैशाखमा १२ हजार ७५, चैतमा १० हजार ४०३, फागुनमा ८ हजार २३७, मंसिरमा ६ हजार ८२१, माघमा ६ हजार ५८१, पुसमा ६ हजार २६७, साउनमा २ हजार ८७९, भदौमा २ हजार ६९७, असोजमा ५१० र कार्तिकमा २ हजार ८७ जना भारतीय पर्यटक नेपाल भित्रिएका छन् विराटनगरका पर्यटन प्रहरीले जानकारी गराएका छन ।
सवारीसाधनतर्फ हेर्दा वर्षभरिमा ३३९ वटा बस, १६ हजार ९७९ वटा कार तथा जिप र १३६ वटा अन्य सवारीसाधन गरी कुल १७ हजार ४९४ वटा सवारीसाधन नेपाल प्रवेश गरेका छन्।
भारतसँग सीमा जोडिएको विराटनगर नाका पूर्वी नेपालको प्रमुख प्रवेशद्वारका रूपमा रहेको छ। धार्मिक, पारिवारिक, स्वास्थ्य उपचार, व्यापार तथा पर्यटनका विभिन्न उद्देश्यले भारतीय नागरिकहरू यस नाकामार्फत नेपाल आउने गरेका छन्। पछिल्लो तथ्यांकले विराटनगर नाका हुँदै भारतीय पर्यटकको आगमन निरन्तर बढ्दै गएको देखाएको छ, जसले पर्यटन तथा स्थानीय व्यापार व्यवसायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।




