अभिषेक गिरी प्रकरणः साढुभाइको घरमा प्रहरीको खोजतलास, अनुसन्धान थप विस्तार

विराटनगर, श्रावण ३। ठगी तथा आपराधिक विश्वासघातको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नियन्त्रणमा रहेका अभिषेक गिरीमाथिको अनुसन्धान थप विस्तार भएको छ। अनुसन्धानकै क्रममा प्रहरीले आइतबार विराटनगर महानगरपालिका–१ भट्टाचौकस्थित गिरीका साढुभाइ लक्ष्मी प्रसाईंको घरमा खानतलासी गरेको छ।

प्रहरी स्रोतका अनुसार गिरीसँग सम्बन्धित केही आर्थिक कारोबार शंकास्पद देखिएपछि अदालतबाट आवश्यक अनुमति लिएर घरमा खोजतलास गरिएको हो। खानतलासीका क्रममा केही कागजात संकलन गरी थप अध्ययनका लागि लगिएको बताइएको छ।

निर्माण व्यवसायी सुवास श्रेष्ठलाई पहुँचका आधारमा सरकारी ठेक्का मिलाइदिने भन्दै रकम ठगी गरेको आरोपमा गिरीविरुद्ध उजुरी परेपछि सीआईबीले अनुसन्धान अघि बढाएको हो। सोही प्रकरणमा उनी हाल अनुसन्धानका लागि नियन्त्रणमा रहेका छन्।

यसअघि गत असार १३ गते मोरङ कारागारका कैदीबन्दीलाई वितरण गरिने भत्तासम्बन्धी विवादमा पक्राउ परेका गिरीलाई जिल्ला अदालत मोरङले असार २२ गते थुनामुक्त गर्न आदेश दिएको थियो। अदालतको आदेशलगत्तै सीआईबीले उनलाई पुनः पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं लगेको थियो।

यता मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले साढुभाइको घरमा खानतलासी गरिएको पुष्टि गर्दै खोजतलासका क्रममा कुनै आपत्तिजनक सामग्री वा उल्लेखनीय वस्तु फेला नपरेको जानकारी दिए। उनका अनुसार अनुसन्धान प्रक्रिया भने जारी रहेको छ।